Media Network

लाल मोहम्मद हत्याकाण्ड प्रकरण : हत्यामा प्रयोग भएको २ थान पेस्तोल भेटियो


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौं । प्रहरीले लाल मोहम्मद (लाल महम्द दर्जी)को हत्यामा प्रयोग भएको २ थान पेस्तोल काठमाडौंको लोलाङबाट बरामद गरेको छ ।

सुटरले भाडामा लिएर बसेको कोठा खानतलासी गर्दा २ थान पेस्तोल भेटिएको हो। प्रहरीका अनुसार १ थान अटोमेटिक र अर्को कटुवा गरी २ थान पेस्तोल भेटिएको छ, भने प्रहरीले पेस्तोल फरेन्सिक जाँचका लागि पठाएको छ ।

सुटर गत वैशाखदेखि मासिक १६ हजार रुपैयाँ तिरेर एउटा फ्ल्याट भाडामा लिएर बसेको पाईएको छ । उनीहरुले कपडाको व्यापार गर्ने भन्दै कोठा भाडामा लिएको पाइएको छ।मोहम्मद हत्यापछि फ्ल्याट बन्द थियो। लामो समयसम्म भाडामा लिएकाहरु फ्ल्याटमा नआएपछि घरधनीले ढोका फुटाएर हेर्दा कोठामा पेस्तोल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। 

सुटरहरुले प्रयोग गर्ने गरेको मोबाइल लोकेसन समेत लोलाङ एरियामा देखिएको र घरधनीले दिएको हुलिया सुटरसँग मेल खाएको प्रहरीले जनाएको छ। गत असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहार गरी मोहम्मदको हत्या गरिएको थियो।

प्रहरीका अनुसार महोम्मदको हत्यामा प्रत्यक्ष रुपमा ९ जना संलग्न भएको पाइएको छ। जसमा ३ जना नेपाली छन्। तीनै जनालाइ प्रहरीले यसअघि नै पक्राउ गरेर सार्वजनिक गरेको थियो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद