Media Network

महाबौद्ध एरियाका ‘हुण्डी डन’ समातिए, पौने १४ लाख नगद र १७ थान चेक बरामद


खबरस्टोरी संवाददाता

२ माघ २०८०,मंगलवार

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको महाबौद्ध क्षेत्रमा हुण्डी कारोबार गर्दै आएका कुख्यात दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १३ लाख ७५ हजार रुपैयाँ नगद र ७ लाख ९७ हजार रुपैयाँ बराबरको १७ थान बैंक चेक बरामद भएको छ ।
काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका–४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई प्रहरीले गत बिहीबार बेलुकी नै पक्राउ गरेको थियो । अनुसन्धान प्रयोजनका लागि उनीहरू पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो ।
गौतमद्वयले काठमाडौं महानगरपालिका–२२ महाबौद्ध एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो ।
भीमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद