Media Network

मिटरब्याजीविरुद्ध १७६८ जनाले दिए उजुरी, सबैभन्दा बढी मधेस प्रदेशमा


खबरस्टोरी संवाददाता

६ भाद्र २०७९,सोमबार

काठमाडौ । मिटरब्याजीविरुद्ध १७ सय ६८ उजुरी परेको छ । सरकारले गठन गरेको कार्यदलले आइतबारसम्म उजुरी दिन आह्वान गरेको थियो । कार्यदलका संयोजक तथा गृह मन्त्रालयका सहसचिव डा।भीष्मकुमार भुसालले साहुकारहरूविरुद्ध देशभरबाट पीडितका उजुरी संकलन गरिएको बताए । पीडितहरूले नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

सबैभन्दा धेरै मधेस प्रदेशबाट नौ सय ८२ पीडितले जाहेरी दिएका छन् । महोत्तरी र बारामा अझै जाहेरी संकलन हुन बाँकी छ । दोस्रोमा बागमतीबाट धेरै पीडितको जाहेरी परेको छ । साहुकारविरुद्ध यो प्रदेशमा तीन सय ५६ पीडितले जाहेरी दिएका छन् । अझै दोलखा, नुवाकोट र रामेछापबाट जाहेरी संकलन हुन नसकेको कार्यदलले जनाएको छ ।

लुम्बिनीमा दुई सय १६ पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत जाहेरी दिएका छन् । अर्घाखाँची र पूर्वी रुकुममा जाहेरी संकलन हुन बाँकी छ । गण्डकीमा ५५ र कर्णालीमा २२ पीडितले साहुकारविरुद्ध जाहेरी दिएका छन् । डोल्पाबाट कसैले पनि जाहेरी दिएका छैनन् । सुदूरपश्चिममा ४५ पीडितले जाहेरी दिएको कार्यदलले जनाएको छ । यो प्रदेशअन्तर्गतका अछाम, बझाङ र डडेल्धुराबाट भने जाहेरी परेका छैनन् ।

सरकारले गत २७ साउनमा मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा गृह मन्त्रालयका दुईसहित नेपाल प्रहरीका तीन र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि गरी ६ उच्च अधिकारी छन् ।गत २९ साउनमा कार्यदलले विज्ञप्तिमार्फत ५ भदौसम्म नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेको थियो । पीडितहरूले जाहेरी दिने म्याद थप गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद