Media Network

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने


खबरस्टोरी संवाददाता

१५ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश अआउने सम्भावना रहेको हो ।

मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस गरेपछि सकिएको थियो ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो । थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतले थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदन दिएका हुन् । उनीहरुले आफुहरुलाई थुनामुक्त गर्न माग गरेका छन् ।

त्यस्तै धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत सम्बन्धी किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद