काठमाडौ \गत सोमबार बसेको मन्त..." /> काठमाडौ \गत सोमबार बसेको मन्त...">
Media Network

प्रहरी नियमावलीमा संशोधन, बीस हजार प्रहरीलाई बढुवाको ढोका खुल्यो


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौ \गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ । 

उक्त संशोधनले प्रहरीका तल्लो दर्जामा कार्यरत जवानहरुलाई थप हौसला र उत्साहित बनाएको छ ।सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत्वपूर्ण निर्णयहरु गरेको हो । 


२० हजार प्रहरीलाई बढुवाको अवसर

नियमावली संशोधन भएसँगै थप गरिएका विभिन्न पदमा करिब २० हजार जनाको बढुवा गर्न बाटो खुलेको छ । गृह मन्त्रालयका अनुसार संशोधित नियमावलीमा कार्यरत जवानमध्ये ३३ प्रतिशतसम्मलाई सहायक हवलदारमा बढुवा गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै हवलदारबाट वरिष्ठ हवलदारमा २५ प्रतिशत र प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकबाट ३३ प्रतिशत बढुवा गर्न सकिने व्यवस्था ल्याइएको छ ।

नयाँ व्यवस्थाअनुसार बढुवाका लागि आन्तरिक तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार प्रहरीमा कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म कार्यरत संख्या करिब ७० हजार छ । त्यसमध्ये जवानमा ४६ हजार २ सय १९ र हवल्दारमा १४ हजार छन् । जवान ३३ प्रतिशत बढुवा हुँदा १५ हजार ४ सय ६ जनाले सहायक हवल्दारमा अवसर पाउनेछन् । २५ प्रतिशत हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भए ३ हजार ७ सय ४७ जना र ३३ प्रतिशत सई वरिष्ठ सईमा बढुवा भए १ हजार ७४ जनाले अवसर पाउनेछन ।


अवकाशअघि डीएसपीसम्मलाई स्वतः बढुवा

प्रहरीमा अनिवार्य अवकाशमा जाने अवस्थामा अब डीएसपीसम्मलाई एक महिना अगाडि नै स्वतः एक तह बढुवा दिने गरी नियमावलीमा संशोधन गरिएको छ । एउटै पदमा ८ वर्ष काम गरेर अनिवार्य अवकाशमा जानुपर्ने अवस्थामा आएमा यस्तो बढुवाको व्यवस्था गरिएको हो । 

यसअघि एउटै पदमा १२ वर्षसम्म रहेर अनिवार्य अवकाशमा जाने अवस्थामा डीएसपीसम्मका कर्मचारीलाई बढुवा दिने व्यवस्था थियो । 


बढुवामा तक्माको अंक गणना नहुने

 प्रहरीमा अब बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ । यस्तो प्रावधानले विभूषणमै विकृति बढाएको भन्दै नियमावली संशोधन गर्दै नम्बर कटौती गरेर ज्येष्ठतामा थपिएको छ । हालको प्रावधानअनुसार बढुवाको सय पूर्णांकमध्ये विभूषणबापत दुई नम्बर जोडिन्छ । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुन्छन् । सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै हुन्छ । 

यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ । जसलाई यथावत् राखिएको छ ।


 तल्लो तहमा तीन पद सृजना

 नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । यसबाट प्रहरीमा लामो समयसम्म एउटै पदमा बसेका कनिष्ठ प्रहरी अधिकारीहरुको बढुवा सम्बन्धि गुनासो सम्बोधन हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ भने जागिर छाड्नेको सख्या समेत विगतदेखि उल्लेख्य रहँदै आएको छ । प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसबाट प्रहरीमा २० हजारभन्दा बढीको बढुवा हुने भएको छ ।


कार्यालय सहयोगीको स्तर वृद्धि हुने

प्रहरीमा अब कार्यालय सहयोगीको पनि पाँच श्रेणी हुने भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ । श्रेणी विहीन पदमा सुरुमा नियुक्ति हुने प्रहरी कार्यालय सहयोगी प्रथमस्तरका, पाँचदेखि १० वर्षसम्म सेवा अवधि भएकालाई द्वितीयस्तरका, १० देखि १५ वर्षसम्मका तृतीय स्तर,  १५ देखि २० वर्षसम्मका कर्मचारीलाई चौथो स्तर कायम गरिनेछ । २० वर्ष वा त्यसभन्दा बढी सेवा अवधि भएकालाई पाँचौ स्तर कायम गरिने भएको छ । यो निर्णय लागू भएसँगै स्वतः वृद्धि गरिने नियमावलीमा उल्लेख छ । 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद