Media Network

राजनीतिक दललाई ‘प्लेटफर्म’ बनाउँदै गरेका ‘डन’हरुको कथा


खबरस्टोरी संवाददाता

२३ मंसिर २०७८,बिहीबार

काठमाडौं । पछिल्लो समयमा विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर गुण्डानाइके अर्थात ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू राजनीतिलाई आफ्नो अपराध छिपाउने गतिलो थलोका रुपमा प्रयोग गर्ने क्रम बढिरहेको छ । 

आपराधिक पृष्ठभुमिका उनीहरु पार्टी र तिनको नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक संरक्षण पाएका उनीहरु राज्यको संघीय संरचनामा गइसकेपछि मन्त्री पद नै हत्याउन थालेका छन् । 

नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा राखिएका उनीहरु बेला बेलामा प्रहरी अपरेशनमा समेत पर्ने गरेका छन् । तर राजनीतिक संरक्षणका कारण ती डनहरुलाई कारबाही गर्नुको सट्टा स्वागत सत्कार गर्दै विदाइ गर्नुपर्ने बाध्यता प्रहरीलाई पर्ने गरेको छ । 

राजनीतिमा प्रवेश गरेर सामाजिक ब्यक्तित्व विकास गर्नुपर्नेमा उनीहरुले उल्टै राजनीतिक आवरणमा गुण्डागर्दी तथा आपराधिक गतिविधिहरु गर्दै आएका छन् । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा उनीहरु आपराधिक गतिविधिहरुमा संम्लग्न हँुदै आइरहेका छन् ।

राजनीतिक शक्तिका आडमा उनीहरु पार्टीको केन्द्रीय नेतादेखि सांसद हुँदै मन्त्रीसमेत बनिसकेका छन् । केहीले गुण्डागर्दी छाडेर आफुलाई अलग्गै राख्दै आफ्नै व्यवसाय समेत सञ्चालन गर्दै पनि आएका छन् । 

धेरैजसो गुण्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेको जस्तो गरेर अपराध छिपाउने प्रयत्न गर्ने गरेका छन् ।

नेपाल प्रहरीका पूर्व डीआईजी पूर्णचन्द्र जोशी भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् ।

‘अहिलेको सरकारले कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता र समानता राख्न तथा पद प्रतिष्ठा र सम्बन्ध, शक्ति र सम्पन्नता नहेरी काम गर्ने वातावरण सिर्जना गरिदिएको छ, त्यो नै सबै प्रकारको गुण्डागर्दी, तस्करी र कालोबजारीविरुद्धको सफलताको मूल आधार हो,’ जोशीले भने ।

जो प्रहरी अपरेशनमा मारिए  


२०७१ साउन २१ मा तत्कालीन एमाले धादिङका उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डा नाइकेहरू राजनीतिक संरक्षणमा आफूलाई सुरक्षित राख्न खोजेको देखिन्छ । 

चरी इन्काउन्टरको दुई वर्षपछि २०७३ भदौ ३ मा अर्का ‘डन’ कुमार श्रेष्ठ (घैंटे) समेत मारिए । राजधानीको कपुरधारामा प्रहरी इन्काउन्टरमा मारिएका उनी नेपाली कांग्रेस निकट गुण्डा नाइके भनेर चिनिन्थे ।

२०७४ फागुन १० मा प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन तत्कालीन नेकपा एमालेका नेताहरूको संरक्षणमा थिए । उनले युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ मा हत्या गरेका थिए ।

चरी र घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि आफूहरु प्रहरीबाट असुरक्षित महसुस गरेसँगै राजनीतिक दल सुरक्षित अवतरण गर्ने बलियो ‘प्लेटफर्म’ बन्न पुगेको हो ।

नेतादेखि मन्त्रीसम्म गुण्डा नाइके

डनका रूपमा चर्चामा रहेका दीपक मनाङे हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सांसद हुन् । उनी गण्डकी प्रदेशको मनाङ प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भए । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पटक–पटक प्रहरी थुनामा पुगेका मनाङे प्रदेशसभा सदस्य चुनाव लड्नुअघिसम्म पनि डिल्लीबजार जेलमै थिए । 

गण्डकी प्रदेशमा आफ्नो बलियो पकड जमाउन सफल उनी पछिल्लो समययता प्रदेशमा सरकार गिराउनेदेखि नयाँ सरकार बनाउने खेलमा समेत अग्रपंक्तिमा देखिए । तत्कालिन नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकार बचाउनकै लागि मनाङ्गेलाई मन्त्री बनाए । यिनै मनाङ्े गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका सारथि छन् । नेपालीलाई मुख्यमन्त्री बनाउने निर्णायक देखिएका मनाङ्गे त्यसैको बक्सिस् स्वरुप गण्डकी प्रदेशको खेलकूद मन्त्री बनाइएका छन् । 

अर्का गुन्डा नाइके गणेश लामा पहिले राप्रपाको संरक्षणमा थिए । पछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बनेका उनी गच्छदार नेपाली कांग्रेसमा फर्किएपछि हाल कांग्रेस नेताकै रूपमा छन् । काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा उम्मेदवार बनेका चर्चित ‘डन’ लामा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका चन्द्र लामासँग पराजित भएका थिए । 

त्यस्तै काभ्रेका गुण्डा नाइके दाबा लामा नेपाली कांग्रेसको शुक्रबारदेखि काठमाडौंमा शुरु हुन लागेको १४औँ महाधिवेशन प्रतिनिधिको रुपमा छनौट भएका छन् । जसलाई पार्टी केन्द्रीय नेता बन्नेसमेत ढोका खुला भएको छ । 

यस्तै, धादिङका राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ हाल सत्ताधारी दल कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा धादिङ क्षेत्र नम्बर १ बाट खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।  

दाबालाई कांग्रेसले २०७७ माघ २१ मा काभ्रेको तरुण विभागको संयोजक र बागमती प्रदेशको उपसंयोजक बनाएको थियो भने राधे तरुण दल धादिङका उपाध्यक्ष हुन् । दाबा लामा काभ्रेको भुम्लु गाउँपालिकाको पार्टी सभापति पनि छन् ।  

गुण्डा नाइकेहरुले राजनीतिलाई अपराध छिपाउने सुरक्षित स्पटका रुपमा प्रयोग गरेपछि आम रुपमा राजनीतिक दल र तिनका नेताहरुप्रति जनताहरुको आश र भरोसा दिनप्रतिदिन खस्कदै गइरहेको राजनीतिक विश्लेषकहरु बताँउछन् । यस खालको गतिबिधिले बहुदलीय व्यवस्थासँगै लोकतान्त्रिक गणतन्त्रप्रति समेत जनताहरुको सेन्टिमेन्ट बदलिदोँ देखिनु अस्वभाविक नभएको उनीहरुको बुझाई छ । 

जनताको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । गुण्डागर्दी गरेर समाजलाई असर पार्ने गतिविधि रोक्ने काम गर्दा गुण्डानाइकेहरु प्रहरीसँग ठोक्किन्छन् । त्यसैले कानून भन्दामाथि आफूलाई देखाउन र प्रहरीलाई ठीक पार्न उनीहरु राजनीतिको आड लिएको हुन सक्ने एक बरिष्ठ प्रहरी अधिकारी बताउँछन् । एशियामै अब्बल मानिएको नेपालको प्रहरी प्रशासनका लागि ‘स्टाडम मेन्टेन’ गर्न पनि यो चुनौतिको विषय बनेको उनको ठम्याइछ । 

यद्यपी नेपाल प्रहरीका विगतका केही अपरेशनले गुण्डागर्दीको पूरानो टे«न्डलाई भने धेरै हदसम्म कम गरेको पाइन्छ । पहिलेका जस्तो टोले गुण्डाहरु आजभोलि अर्कै धन्दातर्फ उन्मुख देखिन्छन् । या त विदेशिने या कुनै व्यवसायलाई अंगालेर जीविकोपार्जन गर्ने गरेको त्यस्ता धेरै उदाहरणहरु पाइन्छ ।  










Share:
Reaction :
ताजा समाचार
खेलकुद