Media Network

रक्षामन्त्री खड्काले गरे सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण


खबरस्टोरी संवाददाता

१४ माघ २०८०,आईतवार

काठमाडौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोष मातहत सञ्चालित गतिविधिहरूका बारेमा जानकारी लिएका छन्।

उनलाई आज (माघ १४ गते) सैनिक कल्याणकारी निर्देशनालयमा आयोजित कार्यक्रममा वि।सं।२०३२ सालमा स्थापना भई सञ्चालनमा रहेको गैर नाफामुलक सैनिक कल्याणकारी कोष र सो मातहत सञ्चालित विविध गतिविधिहरूका बारेमा जानकारी गराइएको हो।

सैनिक कल्याणकारी गतिविधिका बारेमा जानकारी लिन जङ्गी अड्डा परिसर पुगेका मन्त्री खड्कालाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरे। त्यस अवसरमा प्रधान सेनापतिले बहुजन हिताय, बहुजन सुखाय मूलमन्त्रसहित हिताधिकारीहरूको जीवनयापनमा सहयोग पुर्याउन सैनिक कल्याणकारी कोष मातहत सञ्चालित गतिविधिहरु पारदर्शी एवं नियमसंगत रहेको जानकारी गराए।उनले हिताधिकारीहरूको कल्याणमा प्रभावकारी ढंगले सेवा सुबिधाको विस्तार गर्न कोष प्रयत्नशील रहेको पनि जानकारी गराए।

सो अवसरमा रक्षामन्त्री खड्काले राष्ट्रिय सुरक्षाको मुख्य दायित्व सँगसँगै देशको विकासमा पनि योगदान पुर्याउँदै आएको नेपाली सेनाको कल्याणकारी कोष मार्फत संचालित शैक्षिक गतिविधिहरुको उत्कृष्ट नतिजा तथा यस्ता कार्यक्रमहरुबाट सर्वसाधारणले पनि लाभ हासिल गरेको देख्न र सुन्न पाउँदा आफूलाई खुशी लागेको बताए।

नेपाली सेनाका बहालवाला एवं अवकास प्राप्त सकलदर्जा तथा तिनका आश्रित परिवारजनको हितका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुबिधा तथा सहुलियत उपलव्ध गराई जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले संचालित कल्याणकारी गतिविधिहरुबाट सर्वसाधारण पनि लाभान्वित हुँदै आई रहेको नेपाली सेनाले जनाएको छ।कोषको मुलधनमा पुस मसान्तसम्म रु ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार नगद मौज्दात रहेको छ। विभिन्न कार्यक्रमहरुमा रु ६ अर्ब ७५ करोड ५५ लाख लगानी समेत कोषको यथार्थ सम्पती रु ८२ अर्ब ६६ करोड १२ लाख रहेको छ।

नेपाली सेनाका अनुसार सैनिक कल्याणकारी निर्देशनालय मातहत संचालित शिक्षण संस्थाहरु, स्वास्थ्य उपचार सुबिधा एवं अन्य गतिविधिहरुबाट ३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। यस्तै वार्षिक १ अर्ब २५ करोड भन्दा बढी रकम मुलुकको राजश्वमा प्रत्यक्ष योगदान भइरहेको छ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद