Media Network

रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर


खबरस्टोरी संवाददाता

११ मंसिर २०८०,सोमबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

सोही नगरपालिकाको वडा नं. ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नं. ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा उनीहरूले अनियमितता गरेको पाइएको छ । जहाँ वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई बढी भुक्तानी गरेको पाइएको आयोगको ठहर छ । 

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी र सव–इन्जिनियर हर्षलाल चौधरीले स्थलगत रूपमा नाप जाँच गरी नापी किताबमा वास्तविक परिमाण चढाउने काम गरेका थिए । उनीहरूले बिल सही छ छैन चेकजाँच गरी कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा काम नभएकोलाई भएको भनी घटी परिमाणमा सम्पादन भएको कार्यहरूको बढी परिमाण नापी किताबमा समावेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरेको आयोगको आरोप छ ।   

झुट्टा बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाद १२ हजार ७३ रुपैयाँ ५८ पैसा बढी भुक्तानी उनीहरूले दिएका थिए । उनीहरूसँग सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीहरूले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी उक्त निर्माण कार्यको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरेकोले कैद र जरिवाना पनि हुनुपर्ने आयोगको माग छ । 

रामुधनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं. ३ का तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ तहका सुनिल कुमार चौधरीले अनुगमन तथा मूल्याङ्कन समितिमा रहेका थिए । उनीहरूले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट तयार गरेका थिए । 

त्यस्तै, जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर नानु कुमारी निरौला (बस्नेत) ले सरकारी सम्पत्तिमा गैर कानुनी हानि र आफूलाई लाभ पुर्याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माण स्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाएका थिए । जसबाट २ लाख १३ हजार ७३ रुपैयाँ ५८ पैसा भुक्तानी लिएको पाइएको छ । उनीहरुविरुद्ध पनि सोही रकम बराबरको बिगोसमेत माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद