Media Network

सूर्य दर्शन सहकारी ठगी प्रकरण: महेन्द्र र भविश्वर जेल चलान, जिबीसहित १५ जना अझै फरार


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याललाई जेल चलान गरिएको छ।कास्की जिल्ला अदालतले बुधबारको सुनुवाइपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए।मंगलबार सुनुवाइ भएर बुधबारको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको एकल इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जेल चलान भएका गुरूङ प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव रहेको खुलेको छ।यसअघि यो सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए। उनीहरू पनि अहिले पुर्पक्षका लागि जेलमा छन्। 

पोखरामा गितेन्द्र (जीबी) राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। अब यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका जिबी राईसहित १९ मध्ये चार थुनामा पुग्दा १५ जना अझै फरार छन्। हाल बन्द भएको भनिएको ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिबेदनले देखाएको छ। उक्त रकम उनले टेलिभिजनमा लगानी गरेको भेटिएको छ।

सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम मुछिएको छ। सहकारी विवादमा मुछिएपछि रविले आफ्नो बचाउ कोसिस जारी राखेका छन्। लामिछानेले सहकारीको रकम आफूले लिएको अस्वीकार गरिरहेका छन्। जिल्ला अदालत कास्कीमा दर्ता सहकारी ठगी मुद्दा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद