Media Network

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तामाकोशीका वडा अध्यक्ष कारागार चलान, महेन्द्र र अर्यालको बयान लिने क्रम जारी


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

पोखरा । सहकारी उपाध्यक्ष समेत रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ का वडा अध्यक्ष कैलाशकुमार दर्लामी पूर्पक्षका लागि कारागार चलान भएका छन् । 

शुक्रबार पक्राउ परेको दर्लामीलाई सोमबार जिल्ला अदालतले कास्कीले थुनामा पठाउने आदेश दिएको हो । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड बढी बचत हिनामिना गरेको भन्दै १९ जना विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । सहकारी सञ्चालक जिबी राई सहित फरार रहेका १८ जना मध्ये दुई जना सोमबार आफै अदालतमा हाजिर भएका छन् ।

फरार रहेका सहकारी पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर भएका छन । बुधबार पनि बयान जारी छ । बयान चलिरहेकाले अहिले उनीहरुलाई प्रहरीले हिरासतमै राखेको छ । 

महेन्द्र युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् भने उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् । फरार हुनेहरुमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ फरार छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद