Media Network

काठमाडौं महानगरमा ७४ सालको चुनावको जोडघटाउ


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मतदाता काठमाडौैं महानगरपालिकाका छन् । निर्वाचन आयोगकाअनुसार वैशाख ३० को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता रहेका छन् । सबैभन्दा धेरै मतदाता भएको र देशकै संघीय राजधानीकै केन्द्रमा रहेको स्थानीय तह भएकाले पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी चासो रहेको छ ।

काठमाडौं महानगरको सबैभन्दा बढी महत्व हुने भएकाले काठमाडौं महानगरमा पकड जमाउन ठूला दलहरुको रस्साकस्सी छ । संघीय राजधानीको केन्द्रमा कब्जा जमाउन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा होमिदै छ । 

प्रमुख प्रतिपक्षी दल एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल, परिवार दल लगायतका राजनीतिक दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ । 

२०७४ सालको राजनीतिक अवस्था 

संघीयता कार्यान्वयनपछि पहिलो पटक २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरमा मेयर पदमा नेकपा एमालेका विद्या सुन्दर शाक्य निर्वाचित भए भने उपमेयर पदमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की विजयी भएकी थिइन् । 

काठमाडौं महानगरको मेयरमा २८ जनाले उम्मेदवारी दिएका थिए भने उपमेयरमा १३ जनाको उम्मेदवारी परेको थियो । 

चार वर्षपछि हुन लागेको निर्वाचनमा ७९ वटा राजनीतिक दलले भाग लिँदैछन् । ती मध्ये कति वटा राजनीतिक पार्टीले काठमाडौं महानगरमा उम्मेदवारी दिन्छन्, अहिले नै भन्ने अवस्था छैन । 

यद्यपि स्वतन्त्रसहित यो पटक पनि काठमाडौंमा ठूलो संख्यामा मेयर उपमेयरमा उम्मेदवारी दिने सम्भावना रहेको पछिल्ला गतिविधिहरुले देखिएको छ । 

काठमाडौंवासीको अवस्था नफेरिए पनि राजनीतिक दलहरुको अवस्था फेरिएको छ । 

२०७४ सालको निर्वाचनमा मेयरको परिणाम

काठमाडौं महानगरपालिकामा २०७४ सालको चुनावमा एमालेका विद्या सुन्दर शाक्य ६४ हजार ९ सय १३ मत प्राप्त गरी निर्वाचित भए । 

शाक्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज केसीले ४५ हजार २ सय ६९ मत प्राप्त गरेका थिए । केसीले भन्दा १९ हजार ६ सय ४४ मत प्राप्त गरी शाक्य मेयरमा निर्वाचित भएका हुन् । 

अहिले एमाले विभाजित छ भने कांग्रेसले निर्वाचनमा पनि माओवादी केन्द्र, जसपासहित चार पार्टीको साथ पाउने भएको छ । सम्भवतः सत्ता गठबन्धनले आपसमा तालमेल गरी मेयरमा कांग्रेसलाई उठाउने छ । 

अघिल्लो निर्वाचनको परिणामअनुसार कांग्रेस, माओवादी केन्द्र, साविकको नयाँ शक्ति पार्टीको मत समेत जोड्दा पनि एमालेको मत ५ हजार ५ सय ६७ मत बढी देखिन्छ । 

अघिल्लो चुनावमा माओवादी केन्द्रका मेयरका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९०६ मत प्राप्त गरेका थिए भने नयाँ शक्ति पार्टीले ६ हजार ५० मत ल्याएको थियो । नयाँ शक्ति पार्टी नै अहिले विघटन भइसकेको छ । 

तर ७४ साल र अहिलेको अवस्था भने केही भिन्न छ । नयाँ शक्ति जसपामा समाहित भएको छ भने एमालेको एउटा हिस्सा नेकपा एकीकृत समाजवादीका रुपमा चोइटिएको छ । त्यसैले एमालेको विगतकै मत आउने सम्भावना पनि कम छ । 

काठमाडौंको उपमेयरको अवस्था

काठमाडौं महानगरमा उपमेयर पदमा नेपाली कांग्रेसकी हरिप्रभा खड्कीले ५८ हजार ९५२ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । 

उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठ ३४ हजार ८५४ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्र्रकी सुशीला कुमारी पौडेल १० हजार ४४८ मत र नयाँ शक्तिकी सविना अर्यालले ३ हजार ४९३ मत तथा जनमोर्चाकी ऋतु सापकोटा (केसी)ले ३६३ मत पाएकी थिइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद