Media Network

मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ । दाबी विरोध तथा मतदाता नामावली अद्यावधिक गर्ने काम एक सातासम्म कायम रहने निर्वाचन आयोगले जनाएको छ । 

आयोगकाअनुसार, मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । 

एक सातासम्म नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने छ । 

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

कुन प्रदेशमा कति दल ? 

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ८७ वटा राजनीति दल कायम गरेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि भने प्रदेश अनुसार फरक फरक छन् । प्रदेश १ मा ६२ निर्वाचन चिन्हमा ७० दल, मधेस प्रदेशमा ६७ निर्वाचन चिन्हमा ७० दल, बाग्मतीमा ६४ वटा निर्वाचन चिन्हमा ७२ दल सहभागी हुनेछन् । 

यस्तै, गण्डकी प्रदेशमा ५८ दलको चिन्हमा ६६ दल, लुम्बिनीमा ६० दलको चिन्हमा ६८ दल, कर्णालीमा ५६ दलको चिन्हमा ६४ दल तथा सुदूरपश्चिम प्रदेशमा ५६ निर्वाचन चिन्हमा ६४ दल कायम रहने निर्वाचन आयोगले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद