Media Network

निर्वाचन तयारी पूराः भोलि उम्मेदवार मनोनयन


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मनोनयन दर्ता प्रक्रिया शुरुहुनु भन्दा एक दिनअघि शनिवार पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारेमा जानकारी दिएको हो । स्थानीय तह निर्वाचन आउन अब २० दिन मात्र बाँकी छ । 

निर्वाचन कार्यक्रमअनुसार आइतबार र सोमवार उम्मेदवार मनोनयन दर्ता गरिनेछ । आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तय गरिएको आयोगले जनाएको छ । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सकिने छ । 

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवारी दिन भने त्यसअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आइतबार र सोमवार ७७ वटा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । 

स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार, मनोनयन दर्ता गरेका उम्मेदवारबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टोपी, गम्छा, मास्क, लकेट वा कुनै पनि किसिमको पहिरन वा लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग वा विक्री वितरणसमेत गर्न पाइदैन । आचारसंहिता उलंघन गरेमा कम्तीमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने आयोगले स्पष्ट गरेको छ । 

यस्तै, निर्वाचन आयोगले आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ । 

८७ प्रकारका मतपत्रको प्रयोग  

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र प्रयोगमा ल्याउने भएको छ । हरेक जिल्लामा फरक फरक मतपत्र हुने भएकाले ८७ प्रकारको मतपत्र प्रयोगमा ल्याइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । 

उम्मेदवारको टुंगो लागिसकेपछि मतपत्र छपाइ गर्न ढिला हुने भन्दै आयोगले उम्मेदवार टुंगो नलाग्ने मतपत्र छपाई गर्ने भएको छ । उम्मेदवारको टुंगो नलाग्दै मतपत्र छापिने भएकाले उम्मेदवार नै नभएको निर्वाचन चिन्हसमेत मतपत्रमा हुन सक्ने थपलियाले स्पष्ट गरेका छन् । 

काठमाडौं उपत्यका भित्रका भक्तपुरका चार वटा नगरपालिका र दुई महानगरपालिकाको वैशाख १७ गते उम्मेदवारीको अन्तिम नामावली प्रकाशित गरेपछि मात्रै मतपत्र छपाइ गरेर पठाउने तयारी आयोगले गरेको छ । 

एक लाख म्यादी प्रहरी भर्ना

स्थानीय तह निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई स्थानीय निर्वाचनमा परिचालित गरिने छ । 

निर्वाचनमा म्यादी प्रहरीबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरी थप १ लाख ६८ हजार सुरक्षा संयन्त्र परिचालन गरिदैछ ।   

यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरिएकोमा यो पटक एकै चरणमा गर्न लागिएको छ । 

स्थानीय तह निर्वाचनका लागि १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । 

वैशाख ३० गते सात प्रदेशका ७५३ स्थानीय तहमा मतदान हुनेछ । देशभरीका छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित हुने आयोगले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद