Media Network

स्थानीय चुनावः बेमेलको तालमेल


डिल्ली निरौला

२२ चैत्र २०७८,मंगलवार

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदैछ । उम्मेदवार मनोनयनको समय आउनै लाग्दा दलहरुकाबीचमा संयुक्त उमेदवारीको प्रयास पनि भइरहेको छ । सामान्यतया स्थानीय चुनाव प्रमुख प्रतिपक्षी एमाले एकतिर र सत्ताधारी गठबन्धन एकतिर देखिएका छन् । 

निर्वाचनमा एक दलले अर्को दललाई हराउन खोज्नु स्वभाविक नै हो, तर सत्ताधारी गठबन्धनले सम्पूर्ण रुपले प्रतिपक्षीलाई एक्ल्याउनै खोजिएको दृस्य चाँही रोचक बनेको छ । त्यसमा पनि सिद्धान्तः विपरित ध्रुवका माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता दलहरु र नेपाली काँग्रेस, जनता समाजवादी पार्टीको समन्वय अप्राकृतिक देखिने गरेको छ । 

मार्क्सवाद, लेनिनवाद माओवादमा आधारित साम्यवादी आदर्शका दलहरु र पूर्ण उदार लोकतान्त्रिक पक्षहरुको एकता अनपेक्षीत बनेको देखिन्छ । त्यसमा पनि संघीयता जस्ता विषयमा तीब्र विमति राख्ने दल र संघीयताकोबाहक मानिएको दलकोबीचमा समेत चुनावी तालमेलले गजबको परिदृस्य देखिएको छ । 

खासमा निर्वाचन आफ्ना नीति कार्यक्रम लिएर नागरिकहरुमा जाने अभ्यास हो । आफ्ना नीतिहरुको अनुमोदन गराएर नीति कार्यन्वयनमा प्रतिवद्धता जनाउने उत्सव हो निर्वाचन । विगतमा आफ्ना कार्यक्रमको सिद्धताको परिक्षण र अद्यावधिक नीतिहरुको अनुमोदन गराउने पर्व हो । तर निर्वाचन हाल सत्ता र प्रतिपक्षको आपसी निषेधको सर्तमा केन्द्रित रहेको पाइन्छ । नीति आधारमा श्रेष्ठता हासिल गर्नुको साटो दलीय निषेधको मार्ग निश्चय नै सकारात्मक होइन । 

यो एक प्रकारको अमिल्दो चुनावी गठबन्धन जस्तो छ । संघीय तहका नेताहरुले स्थानीय तहमा जबर्जस्त थोपरिएको देखिन्छ । यस्तो गठबन्धनका दलहरुको प्रकृति हेर्दा तालमेलले संयुक्त धारणा लिएर साना दलहरुको बीचमा साझा मुद्दा र एकीकृत धारणा लिएर जानु पर्ने हो । तर यसको ठीक विपरित रुपमा उपल्ला तहका नेताहरुको सत्तास्वार्थको कोपभाजनमा स्थानीय नेता कार्यकर्ता परेको पाइन्छ । दलका नेता कार्यकर्ताहरुको असहमतिका बावजुत हुने गठबन्धन प्रतिपक्षी तह लगाउने हतियारको रुपमा उपभोग गरेको पाइन्छ । तर कार्यकर्ताको असन्तुष्टिकाबीच भएको तालमेलले गठबन्धनलाई नै हानी पुग्ने संभावना नकार्न सकिदैन ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा तालमेलको सबैभन्दा ठूलो बेमेल रहेको छ । नेतृत्वमा ४० प्रतिसत बढी हिस्सा रहेको शेखर कोइरालापक्ष घोषित चुनावी गठबन्धनमको विपक्षमा छ । स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने भए पनि देशव्यापी तालमेल नहुने सो पक्षको अडान कायमै देखिन्छ । सो समूहको कार्यकर्ता पंक्ति केन्द्रबाट स्थानीय तहसम्म फैलिएका छन् । उक्त गठबन्धन हुन नहुने नीति कार्यकर्तादेखि मतदातासम्म नै फैलिएको छ । यसरी फैलिएको जनअसन्तोषले तालमेलमा बेमेलको स्थिति पैदा गरेको देखिन्छ । 

नेपाली काँग्रेसको कार्यकर्ता वा मतदाता आफ्नो चुनाव चिन्हमा स्वतन्त्ररुपमा मतदान गर्न पाउनुपर्ने पक्षमा रहेका छन् । कांग्रेस जस्तो पुरानो दलमा आफ्नो चुनाव चिन्हप्रतिको लगाव लामो समयदेखि रहदै आएको छ । पुरानो अभ्यस्ततालाई छोड्न कार्यकर्ता तयार नभएको आवाज सतहमा नै आएको छ । कार्यकर्ताहरुले आफ्नै चुनाव चिन्हमा मतदात गर्न नपाउने अवस्थामा मतदान दर घट्न सक्ने, दिने मत बदर हुने वा अन्यत्र मत दिन सक्ने हुन सक्छ । जसले तालमेलको दलीय बेमेल मत परिणाममा देखिन सक्छ । 

विगतबाटै काँग्रेसले माओवादीलाई लिन जान्ने दिन नजान्नेको आरोप लगाएको छ । माओवादीले काँग्रेसको भोट लिएको तर माओवादीले काँग्रेसलाई भोट नदिएको गुनासो कांग्रेस कायकर्तामा देखिएको छ । यसलाई उपत्यका, धरान जस्ता सहरहरुको परिणामले सही सावित पनि गरिदिएको छ । मतदाताले नेताहरुको मिलनलाई मात्र नभई आफ्नो बैचारिक झुकाव पनि राख्न सक्ने भएकाले गठबन्धनको तालमेल बेमेलको स्थितिमा छ । 

बामदलहरुकाबीचमा पनि बैचारिक रुपमा विपरित ध्रुवका समूहसँग तालमेल गर्न नहुने आवाज कामजोर छैन । तर बाम त्यसमा पनि तुलनात्मक उग्र बाम दलहरुमा विवाद सतहमा नदेखिएको हो । नेकपा एमालेमा बाम दलको बिचमा एकिकरण हुनु पर्ने मुद्दा केन्द्रीय समितिमा नै उठेको छ । सामान्य कार्यकर्ता त के उपल्ला नेताहरुमा नै बाम भोेट अरुलाई दिन नसकिने विचार व्याप्त छ । 

विगतमा लामो समय विवादित बनेको एमसीसीका कट्टर पक्षधर र कट्टर विपक्षमा रहेका दलहरुको कारण राजानीति नै विभाजित बनेको थियो । यसले समाजको स्तरमा समेत समानान्तर विभाजन गराएको थियो । यस्तो विभाजित मुद्दाका पक्षधर र विपक्षकाबीचमा भएको तालमेल गर्न नहुने आवाज कमजोर छैन । एमसीसीको विपक्षमा रहेका बाम दलहरु र पक्षमा रहेको काग्रेसको तालमेलले उक्त मुद्दाको कारण विभाजित जनमतमा तालमेल आफैमा बेमेलको स्थितिमा पुग्न सक्छ ।

बैदेशिक बस्तुस्थितिको कारण पनि आज तालमेल सहज देखिएको छैन । नेपाली काँग्रेस खुला उदार लोकतान्त्रिक मान्यतामा विश्वास गर्दछ । जसको सम्बन्ध संसारका लोकतान्त्रिक मुलुकहरुको बिचमा हुने गरेको छ । अमेरिका, युरोपेली तथा भारतीय उदार दलहरुको सँगको घनिष्टता हुनु स्वभाविकै पनि हो । तर बाम दलहरुको झुवाव कम्युनिष्ट बन्द राजानीतिक व्यवस्थाप्रति छ । उनीहरु चिनियाँ राजनीतिक प्रणाली र त्यहाँका दलहरुसँग निकटको सम्बन्ध राख्ने गरेका छन् । विगतका चिनियाँ राजनीतिक दलको कार्यकर्ताबाट प्रशिक्षण नै लिएको कुरा सत्य हो । त्यसमा पनि माओवादी र एकिकृत समाजवादी उग्रबाम विचारधाराकै प्रतिनिधित्व गर्दछन् । यिनीहरुले अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारबादी भन्ने गरेका छन् । यस्ता दलहरुबीचको तालमेल अन्तर्राष्ट्रिय शक्तिहरुलाई हेर्ने दृष्टिकोणको हिसावले पनि बेमेलको स्थितिमा देखिन्छ ।

विगतमा भएको आपसी चुनावी तालमेल पनि मेलको स्थितिमा नभएको प्रष्ट छ । बाम र गैरबामको तालमेल प्रभावकारी बन्न नसकेको चुनावी परिणाम नदेखिएको होइन । गठबन्धनलाई सिद्ध गर्नका लागि मतपत्र नै च्यातेर पुनः चाहेको परिणाम निकालेको आरोप एमालेले लगाएको छ । तर बाम दलहरुको गठबन्धन तुलनात्मक रुपमा सफल बनेको देखिन्छ । यसरी हेर्दा बाम र गैरबामबीचको समन्वय प्रभावकारी बन्न नसक्ने धार जनमतकै तहमा समेत कमजोर छैन ।

उदार खुला लचिलो राजनीतिक प्रणालीमा पक्ष प्रतिपक्ष दुबै उत्तिकै आवश्यकता छ । त्यो पनि स्थानीय तहको राजनीति लोतन्त्रको आधारभूत सर्त समेत हो । स्थानीय तहको राजनीतिले नागरिक सरोकारको प्रत्यक्ष सम्बोधान गर्नुपर्ने हुन्छ । प्रदेश तथा संघीय सरकार तुलनात्मक टाढा हुन्छन् । त्यसैले स्थानीय सरकार घरदैलोको सरकार हो, यो नागरिकहरुको पलपलको सरकारको हो । यो निर्वाचन स्थानीय मुद्दामा दलहरुको धारणा, विचार लिएर जानुपर्नेमा दलका सत्तास्वार्थमा केन्द्रित बन्नु युक्तिसंगत देखिँदैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद