Media Network

स्थानीय तह : दोहोरिनेलाई अफाव, लोकप्रिय मतमा एमाले


डिल्ली निरौला

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ करिब अन्तिम नतिजा आइसकेको छ । प्राप्त नतिजामा राजनीतिक दलहरुको मिश्रित परिणाम देखिएको छ । छिटफुटबाहेक देशभर संघीय सरकारको गठबन्धन र प्रमुख प्रतिपक्षी दलका बीच चुनावी प्रतिस्पर्धा थियो । गठबन्धनमा नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा थिए भने प्रमुख प्रतिपक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) थिए । काठमाडौं र भरतपुरसहित केही ठाउँमा एमालेले दुई राप्रपाको पनि साथ पाएको थियो । 

देशभरका सबै सात सय ५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । जसमा गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, नगरपालिका प्रमुख, नगरपालिका उपप्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरी ३५ हजार दुई सय २१ पद रहेका थिए । उक्त पद मध्ये केही निर्विरोध, केही स्वतन्त्र र केही दलका प्रतिनिधि सहित निर्वाचित भएका छन् ।

यस पटक निर्वाचनमा विभिन्न राजनीतिक दलका तीन सय ५५ जना प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरुसमेत निर्विरोध निर्वाचित भएका थिए । बाँकी रहेका पदमा  १० हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रहरूबाट मतदान भएको थियो । जसमा केही मतदान केन्द्रहरुमा विभिन्न कारणले पुनः मतदान गरिएको थियो । 

यस पटकको स्थानीय तहको चुनावमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए ।  एक करोड २१ लाख ८२ हजार चार सय ४९ ले मतदान गरेका थिए । उक्त मत ६८.७ प्रतिशतले मतदान गरेको देखिएको छ । जसमा करिव साढे १३ लाख मत बदर भएको देखियो ।  

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को ७ सय ५३ पालिकामध्ये बाजुराको बुढिगंगाको बैसाख ३० को मतदान लाई रद्द गरी पुनः मतदान हुने भनिएको छ । स्थानीय तह निर्वाचनमा भाग लिन ७९ वटा राजनीतिक दलहरु निर्वाचन आयोजमा दर्ता भएका थिए । जसमा दर्ता भएका मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । 

निर्वाचनमा ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए । 

स्थानिय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै केही स्थानीय तहमा सीमित गर्ने नीति घोषित थियो । 

यस्तै, संघीय प्रदेस सरकारको संयुक्त गठबन्धनले जस्तो प्रयास गनेपनि आफू पहिलो दल बन्ने प्रमुख प्रतिपक्षी दलको दावी थियो । गठबन्धनले भनेजस्तो न एमाले सीमित सिटमा खुम्चियो न एमालेले भनेजस्तो उ पहिलो राजनीतिक शक्ति बन्न पुग्यो । 

सत्तारुढ गठबन्धनको बलमा काङ्ग्रेस पहिलो शक्ति बन्यो, माओवादी शक्तिशाली सौदाबाजी गर्न सक्ने तेश्रो पक्ष बन्यो, जनता समाजवादीको जनमत घटेको देखिए पनि साख जोगायो भने एमालेसँग चोइटिएको एकीकृत समाजवादीले झिनो जनअनुमोदन पायो । 

यस्तै, एमालेमा भएको विभाजन, गठबन्धनको राजनीतिक घेराबन्दीको बीचमा एमालेले लोकप्रिय जनमतलाई बढाएको देखियो भने देशभरको परिणामले दोस्रो दलको रुपमा स्थापित हुन पुग्यो । बहुदलीय प्रतिस्पर्धाको चुनावी परिणाममा एमाले दोश्रो पटक लोकप्रिय मतमा काङ्ग्रेसलाई उछिनेको छ । सत्तारुढ दलका चुनावी खपतका एजेण्डा र प्रमुख प्रतिपक्षको चुनावी सौदावादी आंशिक मात्र सफल भएको देखियो । 

जनप्रतिनिधि ४० देखि ५० वर्षका 

निर्वाचन आयोगद्वारा प्रकाशित विवरण अनुसार ४० देखि ५० बर्ष उमेर समूहका जनप्रतिनिधिको बाहुल्यता देखिएको छ । उक्त उमेर समूहका निर्वाचित र निर्विरोधसहित कुल १० हजार नौ सय ९० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा महिला र पुरुष दुबै पर्दछन् । आयोगका दर्ता भएको विवरणको आधारमा आयोगले  प्रणालीमा २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहमा वर्गीकरण गरी तथ्याङ्क सार्वजनीक गरेको हो ।

जसमा नेपाली काँग्रेसकाका ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार छ सय ६४, महिला १ हजार सात ४३ गरी ४ हजार चार सय ०७, रहेका छन् । नेकपा (एमाले)का  ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १६७, महिला १ हजार ५३७ गरी ३ हजार ७०४ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५६३ गरी १ हजार ५८७ जना निर्वाचित भएको तथ्याङ्क रहेको छ । जनता समाजवादी पार्टी, नेपालका  ४१ देखि ५० उमेर समूहका पुरुष २७६, महिला १७९ गरी ४५५, नेकपा (एकीकृत समाजवादी) का  ४१ देखि ५० उमेर समूहका पुरुष १८४, महिला १०५ गरी २८९ निर्वाचित भएका छन् ।

चौध हजार बढी महिला निर्वाचित 

स्थानिय तह निर्वाचनमा १४ हजार भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित भएका छन् । यो चुनावमा दलहरु र स्वतन्त्र गरी मा ५५ हजार छ सय ९९ महिला उम्मेदवारी परेको थियो । निर्वाचन आयोगको निर्वाचन बुलेटिन अनुसार  १४ हजार चार सय दुई महिला जनप्रतिसनसधहरु निर्वाचित भएका छन् । 

विवरण अनुसार  तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित भएका छन् ।  झापाको गौरीगञ्ज गाउँपालिका, दैलेखको भैरवी गाउँपालीका र कैलालीको लम्की चुहा नगरपालीकामा प्रमुख उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार दुई हजार चार सय ५५ जना महिला निर्वाचित भएका छन् । मधेस प्रदेसमा दुई हजार सात सय ७० जना निर्वाचित भएका छन् । त्यस्तै  वाग्मती प्रदेसमा दुई हजार तीन सय ४७ जना निर्वाचित भएका छन् । यसैगरी गण्डकी प्रदेशमा एम हजार छ सय २२ जना निर्वाचित भएको देखिएको छ । सोहीअनुसार लुम्बिनी प्रदेशमा दुई हजार एक सय २४ जना महिला निर्वाचित भएको देखियो । आयोगको विवरण अनुसार कर्णाली प्रदेशमा एक हजार पाँच सय २४ जना निर्वाचित भएका छन्  त्यस्तै, सुदूरपश्चिम प्रदेशमा एक हजार पाँच सय ६० जना महिला निर्वाचित पाइएको छ । प्रमुख पदमा महिला देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । 

कुन दलका कति प्रतिनिधि ?

निर्वाचन आयोगक अनुसार नेपाली काँग्रेसका १३ हजार सात सय ५८  जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधित्वको हिसावले पहिलो बनेको छ । 

यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेका ११ हजार आठ सय ९३ जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधित्वमा दोश्रो दल भएको छ भने नेकपा (माओवादी केन्द्र) का ५ हजार ४५ जनप्रतिनिधिसहित तेस्रो दल बनेको छ । 

जनता समाजवादी पार्टी, नेपालका १ हजार पाँच सय ४८, नेकपा (एकीकृत समाजवादी) का नौ सय ८७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पाँच सय ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सय पाँच, राष्ट्रिय जनमोर्चाका एक सय ५९, नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् । बाकी पदमा स्वतन्त्र र अन्य सना दलका प्रतिनिधिहरु जननिर्वाचित भएक छन् । 

प्रतिनिधित्वमा दलीय स्थिति 

आयोगकाअनुसार नेपाली काँग्रेसका १३ हजार सात सय ५८  जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधित्वको हिसावले पहिलो बनेको छ । अहिले नेपाली काङ्ग्रेसका उमेदवारले एक सय ४१ प्रमुख, एक सय १० उपप्रमुख, १८८ अध्यक्ष र १९० उपाध्यक्ष जितेका छन् । 

त्यस्तै काङ्ग्रेसका दुई हजास छ सय ६५ वडा अध्यक्ष विजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट दुई हजार छ सय छ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य, पाँच हजार तीन सय सात सदस्यहरु निर्वाचित भएका छन् ।  

यसैगरी, एमालेका ११ हजार आठ सय ९३ जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधित्वमा दोश्रो दल भएको छ । हाल एमालेबाट ८२ प्रमुख, एक सय १४ उपप्रमुख, एक सय २३ अध्यक्ष र एक सय २४ उपाध्यक्ष जितेका छन् । 

त्यस्तै, एमालेका दुई हजार एक सय ३० वडा अध्यक्ष विजयी भएका छन् । एमालेबाट दुई हजार तीन सय ४५ महिला सदस्य, दुई हजार दुई सय ८८ दलित महिला सदस्य, चार हजार छ सय ८५ सदस्यहरु निर्वाचित भएको देखिन्छ । 

यसैगरी  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ५ हजार ४५ जनप्रतिनिधि सहित तेश्रो दल बनेको छ । माओवादी केन्द्रबाट २५ प्रमुख, ३३ उपप्रमुख, ९६ अध्यक्ष र ९५ उपाध्यक्ष जितेका छन् । त्यस्तै, माओवादीका एक हजार ५३ वडा अध्यक्ष विजयी भएका छन् । माओवादीबाट नौ सय ६३ महिला सदस्य, नौ सय ७३ दलित महिला सदस्य, एक हजार आठ सय सात सदस्यहरु निर्वाचित भएको देखिन्छ । 

योे निर्वाचनमा पनि ठूला दलहरुलाई मतदाताले रुचाएको देखिएको छ । दलगत प्रतिनिधित्वको तुलना गर्दा जनता समाजवादी पार्टी नेपाल तेश्रो, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाँचौ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल छैटौं, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सातौं, राष्ट्रिय जनमोर्चा आठौं, नागरिक उन्मुक्ति पार्टी नवौ बनेका छन् । त्यस्तै, सात प्रमुख, दुई उपप्रमुख, छ अध्यक्ष, दुई उपाध्यक्ष, एक सय ३७ वडा अध्यक्ष, ५८ महिला सदस्य, ५५ दलित महिला सदस्य र एक सय १९ स्वतन्त्र गरी जम्मा तीन सय ८६ जना स्वतन्त्र जनप्रतिनिधिहरु निर्वाचित भएको देखिएको छ । 

लोकप्रिय मतमा दलीय स्थिति 

मतदाताले दलीय रुपमा मसलाई रुचाए भन्ने विषयमा लोकप्रिय मतको आधारमा निर्धारण गर्न सकिन्छ । कुन पदको मतलाई आदिकारिक मान्ने भन्दा पनि समग्रमा कति मत पाए भन्ने पक्षलाई तुलना गरिएको छ । जसमा स्थानीय तहका सबै पदहरुलाई लिन सकिन्छ । 

देशका पालिकाहरुका सबै सात पदहरुमा कुल सात करोड ५८ लाख नौ हजार सात सय ३२ सदर मत रहेको थियो । जसमा एमालेले दुई करोड ५८ लाख ७३ हजार नौ सय १३ मत प्राप्त गरेको देखिन्छ । यसैगरी नेपाली काङ्ग्रेसले सातै पदहरुमा दुई करोड ५० लाख २५ हजार नौ सय १९ मत पाएको छ । 

यसैगरी माओवादी केन्द्रले एक करोड एक लाख ३२ हजार तीन सय १५ मत प्राप्त गरेको देखिएको छ ।  

यसरी समग्र मतलाई तुलना गर्दा एमाले सबैभन्दा ठूलो दल बनेको देखिन्छ । एमालेले कुल सदर मतको ३४ दशमलव १३ प्रतिशत मत पाएको छ । यसैगरी नेपाली काङ्ग्रेसले कुल सदर मतको ३३ प्रतिशत र माओवादी केन्द्रले १३ दशमलव ६५ प्रतिशत मत पाएको छन् ।

ठूला राष्ट्रिय दलबाहेक साना दलहरुको मत परिणाम तुलनायोग्य कम देखिएको छ । जनता समाजवादी पार्टी नेपालले ३८ लाख ७२ हजार मत पाएको छ । एमालेबाट चोइटिएको एकिकृत समाजवादीले २९ लाख ८४ हजार छ सय ७९ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मत अंश १६ लाख ४५ हजार मत पाएको देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २६ लाख ७३ हजार मत पाएको छ । 

ठूला दलः को खस्किए, को उक्सिए ?

एमालेले सबै पालीका प्रमुख र अध्यक्ष पदमा ३८ लाख नौ हजार छ सय ११ मत पाएको छ । अघिल्लो चुनावमा एमालेका प्रमुख उपप्रमुखले ३१ लाख मत पाएका थिए । पहिला वडाध्यक्षमा एमालेले ३१ लाख पाएको थियो भने यो चुनावमा ३८ लाख मत प्रप्त गरेको छ । अध्यक्ष र प्रमुख र वडाध्यक्षहरुको मतमा एमालेले करिव सात लाख मत बढाएको देखिन्छ । २०७४ सालको स्थानिय चुनावमा कुल सबै पदमा दुई करोड १४ लाख ५० हजार मत ल्याएको थियो ।  

नेपाली काङ्ग्रेसले सबै पालिका प्रमुख र अध्यक्ष पदमा ३७ लाख  पाएको छ । गत चुनावमा काङ्ग्रेसका प्रमुख उपप्रमुखले ३१ लाख मत पाएका थिए । पहिला वडाध्यक्षमा एमालेले ३१ लाख पाएको थियो भने यो चुनावमा ३९ लाख मत प्राप्त गरेको छ । २०७४ सालको स्थानिय चुनावमा कुल सबै पदमा दुई करोड आठ लाख ७४ हजार मत ल्याएको थियो । एमालेको भन्दा नेपाली काङ्ग्रेसको आठ लाख ४७ हजार नौ सय ९४ मत कम पाएको छ ।

त्यस्तै, माओवादी केन्द्र समग्र लोकप्रिय मतमा खस्किएको छ । अघिल्लो चुनावमा सबै पदहरुमा एक करोड १२ लाख १४ हजार एक सय ३३ मत पाएकोमा हाल १० लाख ८१ हजार आठ सय १८ मत कम ल्याएको छ । यो चुनावमा प्रमुख तथा अध्यक्षमा माओवादीले १३ लाख र वडाअध्यक्षमा १५ लाख मत पाएको छ । गत चुनावमा प्रमुख तथा अध्यक्षमा १६ लाख मत पाएको थियो भने, वडाध्यक्षमा १६ लाख ७८ हजार मत पाएको थियो । 

जनता समाजवादी पार्टी नेपाल विगत पाँच बर्षमा एकीकरण र विभाजन भइ रह्यो । जसलाई तुलनामा जटिलताहरु देखिए । जसपा विभाजन भएको लोकतान्त्रीक समाजवादी पार्टी पनि विभाजन पछि पहिलो चुनावमा गएको हो । एकिकृत समाजवादी एमाले सँग चोइटिएर पहिलो पटक चुनावमा गएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुल सबै पदहरुमा करिब सात लाखको हाराहारीमा मत अंस बढाएको देखिन्छ । 

दोहोरिनेलाई अफाव 

यो स्थानीय तहको चुनावमा दोहोरिएर उमेदवार दिनेहरुको लागि मतदातालाले सहजै स्वीकारेको पाइएन । गत चुनावमा जितेर पुन मनोनयन दिएका अधिकांश पराजित भएका छन् । 

यो स्थानीय तहको चुनावमा गत चुनावमा निर्वाचित भएका तीन सय ४१ जनाले पुन मनोनयन गराएका थिए । स्थानिय तहको अध्यक्ष उपाध्यक्ष वा प्रमुख उपप्रमुखमा दिएको उक्त मनोनयन मध्ये अधाभन्दा बढी मतदाताको रोजाईमा पर्न सकेकन् । मनोनयन मध्ये एक सय ४२ पालीकामा मात्र पुराना अनुहार दोहोरिएर निर्वाचित भएका छन् ।  

नेपाली काङ्ग्रेसले एक २७ जनालाई दोहोराएर प्रमुख पदमा पुन उमेदवारी दिएकोमा ६५ जना पराजित भए भने ६२ जना निर्वाचित भएका छन् । एमालेले एक १३ जना उमेदवार पुरानै दोरोराएकोमा ४६ जना मात्र पुन निर्वाचित भएका छन् । माओवादी केन्द्रले भने ४१ जना दोहोराएकोमा २१ जना पुन निर्वाचित भएका छन् । एकिकिृत समाजवादीले १८ जना पुरानालाई उमेदवार दिएकोमा पाँच जना मात्र निर्वाचित भएका छन् ।

स्वतन्त्रको तहल्का 

यो स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरु दलका कतिपय उमेदवारहरुको लागि चुनौती भए । काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढीमा गोपाल हमालको चर्चा बढी रह्यो । सहरका शिक्षित मतदाता भएको क्षेत्रमा स्वतन्त्र उमेदवारको जबरजस्त उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

दलहरुको संगठित शक्तिलाई स्वतन्त्रहरुको चुनौति अनौठो मानिएको छ । उपत्यकामा गठबन्धन र एमालेको बलियो पकड रहे पनि बालेन्द्र शाहले फराकिलो मतान्तरले जित हासिल गरे । यस्तो घटना जनकपुर, धरान, धागढीमा समेत देखियो । तर अपेक्षित मानिएको चितवनमा भने स्वतन्त्र उमेदवारको उपस्थिति दर्बिलो हुन सकेन । 

स्वतन्त्रहरुको विजयलाई लिएर पनि जनमत विभाजित बन्न पुगेको छ । तुलनात्मक रुपमा सहरका शिक्षित मतदाताहरुकाबीच स्वतन्त्र स्थापित हुनुलाई दलहरुप्रतिको नागरिकहरुको असन्तुष्टिका जनताको मुल्याङ्कनको रुपमा समेत लिइएको छ । तर स्वतन्त्र उमेदवार कहिलेकाही हावी हुने गरेको यथार्थता अनुभवसिद्ध नै हो । 

स्थानीय तह नागरिकको घरघरको सरकार पलपलको सरकार समेत हो । आफ्नो नजिकको प्रतिनिधि स्थानीय जनप्रतिनिधि हुन् । यो निर्वाचनमा विभिन्न नविन प्रवित्तिहरु पनि देखिएका छन् । तथापी नागरिकहरुको झुकाव ठूला दलहरुतिर नै केन्द्रित बनेको छ । 

निर्वाचन लोकतन्त्रको अभिन्न पक्ष हो । यो लोकतन्त्रको मानक हो, उदार खुला राजनीतिक प्रणालीको प्रतिनिधित्वको मापक हो । दलहरु यसका परिचालक हुन । दलहरुले यसको उचित प्रयोग गरी नागरिक हितकारी कार्यमा आफूलाई दत्तचित्त राख्नु पर्छ ।   

मुलुकका काठमाडौं महानगर लगायतका ठूला सहरमा स्वतन्त्र उमेदवार देखिएका छन् । 





Share:
Reaction :
ताजा समाचार
खेलकुद