Media Network

आइन्सटाइनले छोडेको अद्भुत जीवन दर्शन- मैले शब्दमा होइन, चित्रमा सोच्ने गर्छु


khabarstory

१५ चैत्र २०७७,आईतवार

मार्च १४ आइन्सटाइनको जन्मदिन हो ।

आइन्सटाइनको मस्तिष्कले विज्ञानमा मात्रै होइन, विश्वको दर्शन, साहित्य, कला, राजनीति, अध्यात्म सबैतिर प्रभाव जमाएको छ । 

‘जीवन एउटा बाइसाइकल चढेजस्तै हो । आफू सन्तुलनमा रहनका लागि यसलाई गतिमा हिँडाइरहनुपर्छ,’ आइन्सटाइनको यो दार्शनिक भनाइले कैयौँ व्यक्तिलाई ऊर्जा मिल्न सक्छ ।

प्रिन्स्टन विश्वविद्यालयले उनका लागि एउटा कुनामा अफिस छुट्याइदिएको थियो । अफिसको सहयोगीले सोध्यो, ‘तपाईंलाई अफिसका लागि के–के चाहिन्छ ?’ उनले आफूलाई चाहिने सामानको सूची दिए, ‘एउटा डेस्क वा टेबुल, कुर्सी, कापी र पेन्सिल भए पुग्छ ।’ अफिसको सहयोगी सूची लिएर फर्किन लाग्दा उनले फेरि थपे, ‘अँ साँच्ची, मलाई एउटा ठूलो डस्टबिन पनि ल्याइदिनुस् है, फोहोर कागजहरू फ्याँक्न ।’

आइन्सटाइनले पेपर र पेन्सिलको बलमा ब्रह्माण्डबारेका कैयौँ रहस्य उद्घाटन गरिदिए । उनलाई कुनै प्रयोगशालाको जरुरत परेन, उनको मस्तिष्क नै उनको प्रयोगशाला थियो ।

प्रोफेसर आइन्सटाइन

स्कुल पढ्दा उनी मन्द बुद्धिका थिए भन्ने मिथक मात्रै हो । उनले स्कुलमा पढाइने विषयवस्तुलाई फरक ढंगबाट हल गर्न कोसिस गर्थे । कण्ठ गर्नमा उनको खास रुचि हुँदैनथ्यो ।

जुरिच पोलिटेक्निकका प्रोफेसर एक अन्तर्वार्तामा बताउँदै भन्छन्, ‘आइन्सटाइनले गर्ने समस्याका समाधान सही र असाध्यै रुचिकर हुन्थे ।’

करिब डेढ सय वर्षअगाडि पश्चिमा देशका शिक्षण संस्थाले पनि रटाउने काम नै गर्थे होलान् । त्यसैले, उतिबेला स्कुलमा पढाइने तौरतरिकामाथि व्यंग्य गर्दै आइन्सटाइनले भनिदिए, 'स्कुलमा पढिसकेका कुरा बिर्सिसकेपछि जे बाँकी रहन्छ, त्यो शिक्षा हो ।’

RITZ

Shikhar Insurance

उतिबेलाको शिक्षाले आइन्सटाइनको प्रतिभालाई निचोर्न खोजिरहेको थियो भने हाम्रो आजको शिक्षाको हालत त्यस्तै छ । यसबाट कैयौँ प्रतिभाहरू फुल्नै नपाई ओइलाइरहेका छन् । आइन्सटाइनले शिक्षाप्रति गुनासो पोख्दै अझ अगाडि बढेर भने, ‘यदि मेरो प्रतिभालाई कुनै कुराले असर गरेको छ भने त्यो शिक्षा हो ।’ 

शिक्षामाथि काम गर्ने जिम्मेवार व्यक्तिले आइन्सटाइनको यो कथनलाई दर्जनौँ पटक सोचिदिए आजका विद्यार्थीप्रति पनि न्याय हुन सक्छ । 

आजको शिक्षक कक्षाकोठामा प्रवेश गर्छ, आफूसँग भएको सूचना विद्यार्थीमाथि यसरी खन्याइदिन्छ कि मानौँ विद्यार्थीको दिमाग रित्तो छ । यस शैलीमाथि आइन्सटाइनको टिप्पणी छ, ‘विद्यार्थी कुनै एउटा रित्तो भाँडो होइनन्, जसलाई तिमीले भर्नु छ, बरु तिनीहरू ‘टर्च लाइट’ हुन् जसलाई तिमीले बाल्नु छ ।’ 

१४ वर्षको उमेरमा आइन्सटाइन ।

‘मैले मेरा विद्यार्थीलाई कहिल्यै पढाउँदिनँ बरु उनीहरूका लागि यस्तो अवस्था सिर्जना गर्न कोसिस गर्छु, जहाँबाट तिनीहरूले सिक्न सक्छन् ।’ आफ्नो पढाउने शैलीबारे आइन्सटाइन यसो भन्छन् । 

शिक्षाले तथ्य तथ्यांकको बोझ बोकाउन हुँदैन । यी सबै कुरा बेकारका छन् । महत्त्वपर्ण कुरा व्यक्तिको सिर्जनात्मकतालाई प्रस्फुटन गर्न प्रेरित गर्नुपर्छ भन्ने सन्देश हो यो ।  

एक पटक पत्रकारले सोध्छन्,  ध्वनिको गति कति हो ? यदि कसैलाई ध्वनि, तरंग र यसको प्रसारणबारे थाहा थियो भने उनी आइन्सटाइन नै थिए । तर, यस प्रसंगमा उनको व्यंग्यात्मक उत्तर थियो, ‘मैले यस्ता सूचनाहरू दिमागमा बोक्ने गर्दिनँ, यिनीहरू आफैँ किताबमा उपलब्ध छन् ।’

सन् १९०५ मा आइन्सटाइनले विशेष सापेक्षता र १९१५ मा सामान्य सापेक्षताको सिद्धान्त प्रकाशित गरेपछि वैज्ञानिक जगत्‌मा हल्लीखल्ली मच्चियो । उनले न्युटनका सिद्धान्तलाई थप विकसित पारे । पारमाणविक ऊर्जा उत्पादन गर्ने बाटो देखाइदिए । गरुत्वाकर्षण तरङ्ग, ब्रह्माण्डको विस्तार, स्पेस टाइम आदि सापेक्षता सिद्धान्तका तथ्य  हुन् । उनकै सिद्धान्तमा टेकेर युरेनियम टुक्र्याएर ‘एटम बम’को निर्माण गरियो र दोस्रो विश्वयुद्धमा प्रयोग गरियो । 

बीसौँ शताब्दीमा सापेक्षतावाद संसारभर चासोको विषय रह्यो । जसलाई पछि वैज्ञानिकहरूले एकपछि अर्को गर्दै परीक्षण गर्न थाले । उदाहरणका लागि, अत्यधिक गुरुत्वाकर्षण बलले प्रकाशको किरणलाई पनि बंगाइदिन्छ भन्ने सापेक्षतामा लेखिएको सिद्धान्तलाई १९१९ मा वैज्ञानिकहरूले परीक्षण गरी हेरे । खग्रास सूर्यग्रहणको बेला अफ्रिकाबाट हेर्दै गर्दा अर्को ताराबाट आएको प्रकाशलाई सूर्यको गरुत्व बलले बंगाएको देखिएपछि आइन्सटाइन सही ठहरिए ।

समय सापेक्ष हुन्छ भन्ने आइन्सटाइनको मतलाई पनि परीक्षण गरेर हेर्दा सही भेटियो । यसअनुसार दुई जुम्ल्याहा बच्चामध्ये एउटालाई पृथ्वीमा र अर्कालाई सगरमाथाको टुप्पोमा लगेर राख्ने हो भने पहिलो बच्चाको समय छिटो बित्नेछ र छिटो बुढो भएको देखिनेछ । 

सापेक्षतावाद सिद्धान्तमा अनुमान गरिएको गुरुत्वाकर्षण सिद्धान्त पनि २०१६ मा वैज्ञानिकहरूले पहिचान गर्न सफल रहे ।

पहिलो पटक अमेरिका उत्रँदा आइन्सटाइन ।

सापेक्षतावादको सिद्धान्तमा आइन्सटाइनले प्रकाशको गतिमा कुनै पनि वस्तु हिँड्न सक्दैन भन्ने तथ्य गणितीय रूपमा प्रमाणित गरिदिए । आजसम्मको विज्ञान यही तथ्यको जगमा उभिएको छ । 

आइन्सटाइनले अनुमान गरेका तथ्यहरू एकपछि अर्को प्रमाणित हुँदै जानु, आइन्सटाइनको मस्तिष्कको रहस्य के हो, पूर्ण रूपमा हामीलाई थाहा छैन । 

भनिन्छ, १९१० को दशकको ६ वर्षमा ६ सय किताब आइन्सटाइनको सापेक्षताको नियममाथि लेखियो । सापेक्षतासम्बन्धी नियमको चर्चा परिचर्चा बढ्दै गएपछि आइन्सटाइन विख्यात सेलिब्रटी बने । आइन्सटाइन अखबारका लागि समाचार स्रोत बने । आइन्सटाइन जहाँ पुग्थे, उनलाई हेर्न मानिसहरू घेरिन्थे । आइन्सटाइनको आविष्कार बुझेका कमै मात्र मान्छे हुन्थे तर आइन्सटाइन शताब्दीका महान् वैज्ञानिक हुन् भन्ने हेक्का सबैलाई हुने नै भयो ।

सामान्यतया आइन्सटाइनले कुनै विषयवस्तुलाई चित्रमा सोच्ने गर्थे । उनले मनोवैज्ञानिकलाई भनेका थिए, ‘मैले विरलै मात्रै शब्दमा सोच्ने गर्छु । कुनै पनि विचारलाई सर्वप्रथम मैले चित्रमा कल्पना गर्छु, अनि मात्र शब्दमा व्यक्त गर्छु ।’ 
 
‘म कुनै प्रतिभाशाली व्यक्ति होइन, एक उत्सुक व्यक्ति हुँ ।’ आइन्सटाइनको यो भनाइले गहन रहस्योद्घाटन गरिदिन्छ, प्रतिभा भनेको जन्मजातभन्दा पनि आर्जन गरिने विषय हो, ज्ञानप्रतिको तीव्र भोकले मान्छेलाई जर्‍याकजुरुक उठाउँछ ।

साइकल चलाउँदै आइन्सटाइन ।

हाम्रा विद्यालय–विश्वविद्यालयमा दशकौँअगाडि जे पढाइन्थ्यो, आज पनि प्राय: त्यही पढाइन्छ । विश्वमा ज्ञान–विज्ञानको खोज यति तीव्र छ, हरेक दिन नयाँ ज्ञान थपिँदै गएका छन् । पुराना ज्ञान थप विकसित र परिमार्जित भइरहेका हुन्छन् ।

यस प्रसंगमा प्रोफेसर आइन्सटाइनलाई एक पटक भौतिकशास्त्रको विद्यार्थीले प्रश्न गर्छ, ‘यी प्रश्नहरू गत वर्षको प्रश्नसँग ठ्याक्कै मिल्दैन र ?’

आइन्सटाइनको उत्तर दिन्छन्,  ‘हो,  तर यो वर्ष उत्तरचाहिँ फरक हुन्छ ।’ 

कक्षाकोठामा प्रवेश गर्नुपहिले शिक्षकले सोच्नुपर्ने विषय हो, कतै आफूले दिन गइरहेको ज्ञान बासी वा असान्दर्भिक भइसकेको त छैन ?

सापेक्षताबारे कसैले सोधेको प्रश्नमाथि आइन्सटाइनको सरल जवाफ छ, ‘जब तिमी एउटी सुन्दर युवतीसँग बसिरहेका हुन्छौ, तिमीलाई १ घण्टा पनि १ सेकेन्डजस्तो लाग्छ । तर, जब तिमी रातो तातो कोइलामा बस्छौ, तिमीलाई १ सेकेन्ड पनि १ घण्टा लाग्छ । सापेक्षता यही हो ।’

'दुनियाँमा अरु त के कुरा, समय पनि सबैका लागि एउटै छैन । यो कसैका लागि ढिलो चल्छ, त कसैका लागि चाँडो । तसर्थ समय एउटा भ्रम हो,' आइन्सटाइनको तर्क छ ।

१९५५ आइन्सटाइनको मृत्युलगत्तै थोमस हार्वेले उनको मस्तिष्क निकालेर प्रिन्सटन अस्पतालमा राखे । पछि वैज्ञानिकहरूले उनको मस्तिष्कमाथि अनुसन्धान गरेर थुप्रै सोध प्रकाशित गरेका छन् । तीमध्ये केही उल्लेखनीय छन् । आइन्सटाइनको मस्तिष्कमा मस्तिष्क कोषलाई पोषण गर्ने ‘ग्लियल सेल’को संख्या बढी थियो । जति बढी मस्तिष्कले काम गर्‍यो, त्यति बढी पोषणको आवश्यकता पर्छ । ग्लियल सेलले उनको मस्ष्किमा आवश्यक इन्धन भरिदिने काम गर्थ्यो ।

मस्तिष्कको अगाडिको ‘पेराइटल लोब’मा छोटो खाल्डो थियो । जुन गणितीय सोचका लागि साँचो मानिन्छ । यो क्षेत्र १५ प्रतिशत फराकिलो भएको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७, १७:२७:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद