Media Network

गोर्बाचोभ गाथा


खबरस्टोरी संवाददाता

१७ भाद्र २०७९,शुक्रबार

काठमाडौँ।अस्ति मंगलबार मस्कोमा मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा मृत्यु भयो । गोर्बाचोभ बितेर गए तर ऊनी सोभियत संघको भूगोल जस्तो ठूलो विभाजित र विवादित व्यक्ति बने । उनको अन्त्य उनकै पुस्तक आफैमा एक्लो (Alone With Myself) जस्तो भयो । उनको कार्यकालमा संसारको सबैभन्दा ठूलो देश सोभियत संघ विखण्डनमा  गयो । प्यासिफिकदेखि बाल्टिक, आर्कटिकदेखि क्यासपियन महासागर, तुन्द्रा र उराल्सका भूमि, करोडौं मेहनती मानिसहरूको रगतपसिनाले सिंचिएको भूमि, नाजीहरूको नूर गिराएको सेनाको पितृभूमिलाई गोर्बाचोभले पार्टी र राज्य संयन्त्र भित्रबाट घात गरे । 


साम्राज्यवादीहरू, पुँजीवादीहरू, युद्ध व्यापारीहरूले सोभियत संघको विघटनमा गोर्बाचोभलाई बधाई दिए । ऊनीहरूले दुष्टको साम्राज्य सकिएको प्रचार गरे । एउटा गाउँले केटो फार्म मेकानिक, १७ वर्षको उमेरमा कृषि ड्राइभर थियो कम्युनिस्ट पार्टी÷कोमसोमोलको सदस्यता पायो, ५४ वर्षको उमेरमै १९८५ मा पार्टीको सर्वोच्च पद महासचिवमा पुग्यो । संशोधनवादीहरूको उक्साहटमा अर्थतन्त्र र राजनीतिमा सुधारको नाममा पेरेस्त्रोइका (पुनर्निर्माण) र ग्लासनोस्त (खुलापन) ले यथास्थिति, भ्रष्टाचार, कर्मचारीतन्त्र विनाश हुने र समाजवाद सुधारिने हल्ला पिटियो । तर गोर्बाचोभकै कार्यकालमा ७४ वर्ष लामो कम्युनिस्ट सत्ताको अन्त्य भयो र ७० वर्ष लामो सोभियत संघ विभाजन भएर १५ टुक्रा बने । 


बुर्जुवा मिडिया प्रजातन्त्र, जनचाहना, निर्वाचनको कुरा गर्छन् तर १९९० मा सोभियत संघ रहनुपर्छ भन्ने जनमतसंग्रहको कुरा चाहिँ गर्दैनन् । १९९० को जनमतसंग्रहको जनादेश सोभियत संघ यथावत रहने बहुमत थियो । जनताको जनमतको अवज्ञा गरियो र सोभियत संघ विघटन भयो । यो सबै प्रक्रियाको नेतृत्व गोर्बाचोभले गरेका थिए । सोभियत संघका जनताको पिठ्युँमा गोर्बाचोभले ब्रुटसले जस्तो धोखा दिएर छुरा प्रहार गरेका थिए । गोर्बाचोभको मृत्युमा रुसका जनता होइन साम्राज्यवादका शासकहरू र तिनका दलालहरू गोर्बाचोभको गाथा गाइरहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद