Media Network

विश्व तापक्रम १.१५ डिग्री सेल्सियस पुग्ने


खबरस्टोरी संवाददाता

२१ कार्तिक २०७९,सोमबार

काठमाडौँ।संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ।

सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो। त्यस सम्झौता पालना नभएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।

इजिप्टमा जारी जलवायु परिवर्तन शिखर सम्मेलनमा राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले प्रतिवेदनअनुसार विगतका ८ वर्ष इतिहासकै ८ सर्वाधिक गर्मी वर्ष भन्नेतर्फ उन्मुख रहेका छन्।

जलवायु परिवर्तनका कारण हिउँ द्रुत रूपमा पग्लिएको र समुन्द्री सतहसमेत ३० वर्ष यताकै दोब्बर रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ। तापक्रम नियन्त्रणका विषयमा गम्भीर नहुँदा पाकिस्तानदेखि पोर्तोरिकोसम्म अनपेक्षित रूपमा गर्मी बढेको प्रतिवेदनमा उल्लेख छ।

कोप–२७ सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्,‘जलवायु परिवर्तनका सवालमा गम्भीर नबनेमा हामी ठूलो संकटमा हुनेछौँ।विश्व मौसम विज्ञान संगठनले सन् २०२२ मा विश्व तापमान १.१५ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ।कार्बन तथा मिथेन उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने विश्वक तापमान २.५ डिग्री सेल्सियस पुग्ने प्रतिवेदनमा उल्लेख छ।

निरन्तर बढ्दै गएको हरितगृह ग्यासको उत्सर्जनसहितका मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्ने क्रममा रहेको डब्लुएमओको प्रतिवेदनमा उल्लेख छ। हरितगृह ग्यासको केन्द्रीकरण अर्थात् एकाग्रता तथा सञ्चित तापक्रम बढ्दो क्रममा हुनु गम्भीर रहेको वैज्ञानिकले बताएका छन्।

‘गम्भीर तातो हावा, खडेरी र भीषण बाढीले विश्वभर यो वर्ष दशौँ लाख मानिस प्रभावित भए भने अर्बौँ बराबरको क्षति भयो’, डब्लुएमओको जलवायु प्रतिवेदनमा भनिएको छ, ‘जलवायु परिवर्तनका सङ्केतहरू र प्रभावहरू झन नाटकीय हुँदै गइरहेका छन्।’

विश्वको औसत तापक्रम औद्योगिक युग पूर्व (सन् १८५०–१९००) को तुलनामा करिब १.१५ डिग्री सेल्सियसभन्दा माथि पुगेको प्रतिवेदनमा जनाइएको छ। जलवायु परिवर्तनको गम्भीर प्रभाव रोक्नका लागि अन्तर्राष्ट्रिय रूपमा सहमति भएको र वैज्ञानिकहरूले पनि सीमाका रूपमा निर्धारण गरेको १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धि सीमित गर्ने लक्ष्य ‘दुर्लभ’ रहेको प्रतिवेदनमा छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद