साम्बाको उपचारमा आर्थिक अभाव, सहयोगको याचना


खबरस्टोरी संवाददाता
११ फाल्गुन २०८२, सोमबार
साम्बाको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बाले आर्थिक अभावका कारण उपचार नपाएको भन्दै याचना गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले सहयोगका लागि खेलप्रेमीहरुसँग आग्रह गरेकी हुन् । साम्बाले आफूलाई सहयोग गर्न बैंक खाताको क्यूआर तथा अनलाइन पे लिंक उपलब्ध गराएकी छन् । साम्बाले अखिल नेपाल फुटवल संघ एन्फाले सहयोग नगरेको कारण आफूले उपचार नपाएको गुनासो गरेकी छन् । 

के समस्या भएको हो साम्बालाई ? 

फुटवल खेलको क्रममा घुँडा दुखेपछि शल्यक्रिया गरेर साम्बालाई निको भएको थियो । पछिल्लोपटक एन्फाकै पहलमा उनको उपचार भएको थियो । त्यतिबेला उनको उपचारमा एन्फाले सम्पूर्ण व्यवस्थापन र सहयोग भएको साम्बाले स्वीकार गरेकी छन् । त्यसबेला आर्थिक र मानसिक रुपर्मा  कुनै समस्या नभएको कारण आफू उपचारपछि समयमा पुनरागमन गर्दै खेल मैदानमा फर्किएको उनले स्मरण गरेकी छन् । तर अहिले न्यूजील्याण्डको फुटवल क्लवमा अनुबन्ध भई खेल्ने क्रममा उनी घाइते भएकी हुन् । जसका कारण उनी ७ हप्तादेखि मैदान बाहिर रहेकी छन् । 

साम्बाको घुँडाको एमसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । त्यसका लागि पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । यो शल्यक्रिय जटिल भएकोले उपचार खर्च ठूलो लाग्ने भएपछि उनले आर्थिक सहयोगको लागि आम नेपालीसँग अपिल गरेकी हुन् । 

न्यूजील्याण्डकै क्लवले स्थानीय अस्पतालमा उनको पूर्ण उपचार गर्ने प्रतिवद्धता जनाएको छ । तर उनले भने आफ्नो चोट गम्भीर रहेकोले कतारमा उपचार गर्न चाहेकी हुन् । पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले आफूले पुनः सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको साम्बाले स्पष्ट गरेकी छन् । यद्यपी क्लबले साम्बाले बाहिर उपचार गरे पनि उनका लागि विमाबाट प्राप्त रकम निकासा गरि पनि जनाएको छ । तर पनि उक्त रकम आफ्नो शल्यक्रिया र ७, ८ महिना रिहह्याबका लागि अपुग हुने भन्दै आम समर्थकसँग सहयोग याचना गरेको जनाएकी छन् । यो उपचारका लागि ८० हजार अमेरिकी डलर खर्च हुने पनि उनले प्रारम्भिक आँकलन गरेकी छन् । 

एन्फाले ५ लाख सहयोग गर्ने 

साम्बाको उपचारमा यसअघि सबै खर्च ब्यवस्थापन गरेको एन्फाले यसपटक भने सम्पूर्ण खर्च गर्न असमर्थ भएको जनाएको हो । बाहिरको क्लवमा अनुबन्ध भएकाले पनि एन्फा आफ्नो दायित्वबाट मन्छिएको हो । यद्यपी एन्फा नेतृत्वले उपचारमा सहयोग गर्ने वाचा भने दिएका थिए । तर एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि नपाएको उनको गुनासो छ । एन्फा नेतृत्वले पछिल्लो पटक ५ लाख सहयोग गर्ने र अन्य प्रक्रिया आफै गर्न भनेपछि साम्बाले सहयोगको याचना गरेकी हुन् । 

चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बताए पनि सो अनुसार एन्फाबाट प्रक्रिया अघि नबढेपछि र आफूले पटक पटक प्रयास गर्दापनि एन्फा पदाधिकारीकारीहरुसँग सम्पर्क गर्न कठिन भएको उनको गुनासो छ । जसका कारण शल्यक्रियाको मिति दुई महिना पछि सार्नुपर्ने बाध्याता परेको उनले बताएकी छन् । 

उनी बाहिर रहेकाले सरकारसमक्ष पनि साम्बाको प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भइरहेको छ । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा आफूले शल्यक्रिया नगरी भर गर्ने स्थिति नरहेको उनले बताएकी छन् । 

‘मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनः माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।’ उनले भनेकी छन् ।– ‘मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु ।’

आर्थिक रुपमा आफूले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको भन्दै सहयोगको लागि याचना गरिरहेको उनले बताएकी छन् । र, आफ्नो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुने पनि उनले अपेक्षा राखेकी छन् ।