काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टी–२० विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने निर्णय गरेको छ ।
विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानपछि बुधवार बसेको आईसीसीको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय गर्न आईसीसीमा मतदानसमेत भएको थियो । बहुमत बोर्ड सदस्यले अर्को देशलाई मौका दिनुपर्ने मत जाहेर गरेपछि आइसीसी उक्त निर्णयमा पुगेको हो ।
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्ने आफ्नो अडानमा फर्कन थप एक दिन दिएको छ । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।
ईएसपीएन क्रिकइन्फोकाअनुसार बंगलादेशको ठाउँमा स्कटल्याण्डले अवसर पाउने सम्भावना छ । स्कटल्याण्ड युरोपेली छनोटमा नेदरल्याण्ड्स, इटाली र जर्सी पछि परेको कारण २०२६ को टी–२० विश्वकपको लागि छनोट हुन असफल भएको थियो ।
भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो ।
मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आईसीसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बताउँदै आएको छ । बंगलादेशको निर्णयप्रति पाकिस्तानले पनि साथ दिएको छ । टी–२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ ।