विश्वकप क्रिकेटको ट्रफी नेपालमा


खबरस्टोरी संवाददाता
२१ पुष २०८२, सोमबार
विश्वकप क्रिकेटको ट्रफी नेपालमा

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटको ट्रफी सोमवार नेपाल आइपुगेको छ । नेपाल आइपुगेपछि उक्त ट्रफी राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन् ।

नेपाल ल्याइएको विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । 

ट्रफी टुर अन्तरगत नेपाल ल्याएको यो ट्रफी तीन दिन नेपालमा रहनेछ । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २३ सम्म हुनेछ ।

जसअन्तर्गत ट्रफी मङ्गलबार काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनी गरिनेछ । बसन्तपुरमा प्रदर्शन गर्नुअघि ट्रफी पोखरा लगिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । बुधबार दिउँसो बौद्धनाथ स्तूप परिषरमा प्रदर्शनी गरिनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिने छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ ।