काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा इंग्ल्याण्डसँग पराजित भएर पनि प्रतिष्पर्धी देखिएको नेपाली टोली इटालीसँग निरिह सावित भएको छ ।
विहीबार भारतको मुम्बईस्थित वनखेडे रंगशालामा भएको आफ्नो दोस्रो खेलमा ब्याटिङ र बलिङ दुबैमा चुकेको नेपालले इटालीसँग लज्जाजनक हार ब्यहोरेको हो । दुवै इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेको इटालीले दोस्रो इनिङ्समा ४४ रन बाँकी छँदै १० विकेटको जित हात पा¥यो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २३ रन जोडेको थियो । नेपालका आरिफ शेख सर्वाधिक २७ जोड्दा कम्तान रोहित पौडेल १४ बल खेल्दा मात्र २३ रनमै आउट भए । यस्तै, आशिफ शेख २० र दिपेन्द्र सिंह ऐरीले १७ रनको योगदान गरे भने करण केसी ११ बलमा १८ रन बनाएर नटआउट रहे । अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् ।
इटालीको स्पिन आक्रमणसामु नेपाली ब्याटर पूरै ओभर पनि मैदानमा टिक्न सकेनन् । क्रिशन कालुगामेज, बेन मानेन्टी र जेजे स्मट्सले आफ्नो १२ ओभरमा ४९ रन खर्चिएर ६ विकेट लिए ।
मात्र १ सय २४ रनको झिनो लक्ष्य इटालीले विना विकेटको क्षतिमा पार गर्यो । इटालीका ओपनिङ ब्याटर दाजुभाईको जोडी जस्टिन र एन्थोनी मोस्काले १२ ओभर ४ बलमा नै जीत सुनिश्चित गरे । आफ्नो पहिलो खेलमा दुई पटकको विश्वविजेता इङ्ल्यान्डसामु जीत नजिक पुगेर प्रभावशाली देखिएको नेपाल पहिलो पटक विश्वकप खेलिरहेको इटालीसामु भने निरीह देखिएको हो ।
यो खेलमा नियमित कप्तान वेन म्याडसेनविना नै उत्रिएको इटालीले जारी विश्वकपमा पहिलो जीत खोजिरहेको नेपाललाई निराश बनायो । नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो । मोस्का दाजुभाइले नेपालसँगको प्रदर्शनबाटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक रनको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।
अब नेपालले फागुन ३ गते वेस्टइन्डिजसँग र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ ।