हप्ताको दुई दिन बिदाः पहिले असफल, अहिले होला त सफल ?


खबरस्टोरी संवाददाता
२२ चैत्र २०८२, आईतवार
हप्ताको दुई दिन बिदाः पहिले असफल, अहिले होला त सफल ?

काठमाडौँ । सरकारले चैत २३ गतेदेखि नै लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । यसअघि साढे ३ वर्षअघि सरकारले गरेको दुई दिनको विदा दिने निर्णय असफल भएको थियो । त्यतिबेला पनि शनिवार र आइतबार सार्वजनिक विदा दिने र अन्य दिन कार्यालय समय विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तय गरिएको थियो । 

यसअघि नै असफल भइसकेको प्रयोग बालेन्द्र नेतृत्वको वर्तमान सरकारले गरेको छ । चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका  शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको उनले बताए । साथै शैक्षिक संस्थाबाहेका कार्यालयहरूमा कार्यालय समय ९ बजेदेखि ५ बजे रहने पनि उनले जानकारी दिए । 

त्यस्तै चैत २२ को मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । इरान र अमेरिका–इजरायल युद्धका कारण नेपालमा पनि इन्धन संकट देखिन थालेको छ । साथै पछिल्लो समय पेट्रोलियम पदार्थमा समेत भारी मूल्यवृद्धि भएको छ । पछिल्लो समय पेट्रोलको भाउ प्रतिलिटर २ सय २ रुपैयाँ पुगिसकेको छ । 

यसअघि साढे ३ वर्षअघि पनि सरकारले सातामा २ दिन बिदा दिने निर्णय गरेको थियो । तर सरकारको निर्णय एक महिना पनि कार्यान्वयन हुन सकेन । त्यतिबेला पनि अन्तर्राष्ट्रिय बजारमा महंगो भइरहेको इन्धनको खपत घटाउन भन्दै सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा गर्ने प्रयोग गरेको थियो । 

यसैबीच, सरकारले दुई दिन शैक्षिक संस्था र सरकारी कार्यालयमा २ दिन सार्वजनिक विदा दिने निर्णयप्रति स्वास्थ्य मन्त्रालय अन्योलमा परेको छ । यो निर्णयले स्वास्थ्य संस्थाहरुको हकमा के गर्ने भन्ने निर्णयमा पुग्न सकेको छैन ।