विश्वमा शान्तिको कामना गर्दै ‘पीस फर म्यूजिक


खबरस्टोरी संवाददाता
१२ बैशाख २०८३, शनिबार
विश्वमा शान्तिको कामना गर्दै ‘पीस फर म्यूजिक

काठमाडौं । मध्यपूर्व लगायतका विश्वमा द्वन्द्व चर्किँदै गर्दा  काठमाडौंमा ‘शान्तिका लागि संगीत’ कार्यक्रम आयोजना भएको छ । जर्नालिष्ट फर जस्टिस नेपालले विश्वमा शान्तिको सन्देश प्रवाह गर्न भन्दै रसियन हाउसमा ‘म्युजिक फर पिस’ कार्यक्रमको आयोजना गरेको हो । बुद्धको जन्मिएको देश नेपालबाट विश्वमा शान्तिको सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष टिकाराम खड्काले बताए । 

कार्यक्रममा बुद्धको देशबाट शान्तिको सन्देश दिने भन्दै बटुकहरुले स्वस्तिवाचन गरेका थिए भने शंखनाद समेत गरिएको थियो । युद्ध र द्वन्द्ध होइन वार्तामार्फत मानव जीवनको रक्षाका निम्ति उभिन आह्वान गर्दै आयोजित कार्यक्रममा बालबालिकाहरुले सारंगी, तबला र बाँसुरीमार्फत विभिन्न गीतमा संगित भरेका थिए । 

नेपालको गणतन्त्र स्थापना र संविधान निर्माणका निम्ति माओवादी जनयुद्धमा सरिक रुकुमबाट समेत शान्तिको कामना गर्दै फूलको आँखामा बोलको गितमा ९ जना बालिकाहरुले पठाएको नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता लोकप्रिय तथा शान्ति प्रेरित गीतका धुनमा वाद्यवादन प्रस्तुत गरेका थिए । त्यसैगरी गायक तथा संगीतकार सागर अधिकारी ’शरद’ ले ‘अहंकार टुटोस’ बोलको शान्तिको सन्देश बोकेको गीत प्रस्तुत गरे भने बाल कलाकार आध्या रेग्मीले कथक नृत्यमार्फत दर्शकको मन जितिन् । 

कार्यक्रममा नेपाल रुसको कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष पुग्दै गर्दा आयोजित कार्यक्रममा रसियन हाउसकोतर्फबाट हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले शुभकामना सन्देश पठाएकी थिइन् । अनास्थासियाकोतर्फबाट शुभकामना सन्देशमार्फत रसियन हाउसका कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले दुई देशको सम्बन्ध स्थापनाको ७० औं वर्ष प्रवेशलाई विशेष जोड दिएका थिए ।