सांसदहरुको सपथः प्रचण्ड र बादल एउटै टेबलमा


खबरस्टोरी संवाददाता
१२ चैत्र २०८२, बिहीबार
सांसदहरुको सपथः प्रचण्ड र बादल एउटै टेबलमा

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले चैत १२ गते विहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २ सय ७४ जना सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् । 

सानो दलमा खुम्चिँदा प्रचण्ड–बादलसँगै

अघिल्लो संसदको ठूला दलहरु नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी संसदमा सानो आकारमा खुम्चिएपछि विगतमा सानो दलको हैसियतको कुर्ची पाएका छन् । 

तत्कालिन माओवादी सशस्त्र युद्धका सहयोद्धाद्वय पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल अहिले दुई फरक पार्टीमा छन् । प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक छन् भने बादल एमाले उपाध्यक्ष । दुई फरक पार्टीका नेताहरु सानो दलमा खुम्चिँदा नयाँ संसदको सपथमा संयोगबश एउटै टेबलमा हात लाग्यो ।

दुबैको गृहजिल्ला चितवन भए पनि दुबै जना चितवनमा अलोकप्रिय हुँदा प्रचण्ड प्रत्यक्षतर्फ सुरक्षित ठाउँ रुकुम पूर्व पुगेर जिते भने बादल एमालेको सामानुपातिकबाट सदन छिरेका हुन् ।