Media Network

आजदेखि ई-पासपोर्ट जारी, के छन् विशेषता ?


खबरस्टोरी संवाददाता

१ मंसिर २०७८,बुधबार

 काठमाडौं। सरकारले आज (मंसिर १) देखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ। त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो । विभागले मंसिर १ गते विषेश कार्यक्रम आयोजना गरी पासपोर्ट जारी गर्न लागेको विभागका निर्देशक शरदराज आरनले जानकारी दिए।

अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ।


के छन् ई-पासपोर्टका विशेषता ?

 ई–पासपोर्ट चिप्स र विद्युतीय बारकोडसहितको विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १२० भन्दा बढी देशहरूले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिने निर्देशक शरद राजले जानकारी दिए ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।

विभागका अनुसार सरकारले जारी गर्न लागेको ई-पासपोर्टमा ६४ वटा पेजको छ।  पासपोर्टको ती पृष्ठमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र  विभिन्न ठाउँको फोटो राखिएको छ। ई-पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा  राखिने  निर्देशक शरद राजले  बताए। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद