मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन रोजगारी सिर्जना गर्न अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानको अवधारणा अघि बढाएको हो । ठुलो संख्यामा श्रमशक्तीलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणालि विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आवद्ध गराउने मन्त्रालयको योजना छ । मन्त्री श्रेष्ठले प्रतिष्ठानको स्तरोन्नती गरी सीप परीक्षण तथा प्रमाणिकरणको व्यवस्था समेत गरिने बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सचिव अर्यालले बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रेमलाल लामिछानेले आफ्नै प्रत्यक्ष व्यवस्थापन तथा तालिम प्रदायक संस्थामार्फत आधारभुत तालिम, उद्यमशील तालिम, प्रशिक्षक प्रशिक्षण गरी तीन लाख १० हजार भन्दा धेरैलाई प्रतिष्ठानले तालिम प्रदान गरेको बताए । तालिम संचालनको छुट्टै नीति तथा कानुनको अभावले सीप विकास तालिम व्यवस्थित हुन नसकेको लामिछानेले बताए । तालिम प्रदायक र रोजगारदाताबीच समन्वनको अभाव साथै तालिम प्रदायक संस्थाहरुबीच पनि समन्वन हुन नसकेको भन्दै उहाँले एकद्वार प्रणाली विकास गर्नुपर्ने बताए ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप तालिम कार्यक्रमहरु अहिले विभिन्न मन्त्रालय, विभाग तथा अन्य सरकारी तथा गैरसरकारी निकायहरुले संचालन गरेपनि लगानीअनुसार प्रतिफल भने प्राप्त गर्न सकेको देखिँदैन । सीप विकास तालिम कार्यक्रमलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन यसलाई व्यवस्थित गर्नुपर्ने आवाज उठिरहेको छ ।