Media Network

बुढानीलकण्ठलाई ब्राण्ड बनाउने अभियानमा छौंः अनिता लामा


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

नेपालको राजधानीमा अवस्थित काठमाडौं जिल्लाका ११ वटा स्थानीय तह मध्येको एक बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकाका रुपमा परिचित छ । जनसंख्याको आधारमा पनि काठमाडौं महानगरबाहेक नेपालभरकै दोश्रो ठूलो नगरपालिकाका रुपमा चिनिने बुढानीलकण्ठको आवासीय क्षेत्र धेरै छ । उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग तथा दक्षिणतर्फ समथर भूभाग रहेको छ । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेले जितेको यो नगरपालिकामा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा पनि मेयर उपमेयर दुवै एमालेले जितेको छ । नगरपालिकाको कार्यभार सम्हाल्न थालेपछि यतिबेला बूढानीलकण्ठ नगरपालिकामा उपमेयर अनिता लामाको संयोजकत्वको समितिले विभिन्न योजनाहरूको नियमित अनुगमन गर्ने कार्य गरिरहेको छ । 

धार्मिक महत्वको बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामासँग स्थानीय सरकारको प्राथमिकताका सन्दर्भमा गरिएको संक्षिप्त कुराकानी । 

--  --

बुढानीलकण्ठ नगरपालिकाको विकासको प्राथमिकता के हो ?

मुख्यतः इन्फास्ट्रक्चरमा अघिल्लो कार्यकालका नेतृत्वले गर्न बाँकी रहेका महत्वपूर्ण कार्यहरुलाई पहिलो प्राथमिकतामा राखेका छौं । निर्माण हुन बाँकी पूर्वाधारहरु र विगतका नेतृत्वले गर्न बाँकी तथा निर्माण गर्दागर्दै अधुरा गरेको कामहरुलाई पुरा गर्नु हाम्रो दायित्व हो । केही आधासम्म भएका र केही निर्माण कार्यहरु हुँदै नभएको तथा उठ्दै नउठेको अवस्था पनि छन् । साथै यस क्षेत्रमा कसरी आर्थिक, सामाजिक र सांस्कृतिक स्तरउन्नति रुपान्तरण गर्न सकिन्छ भन्ने नै अर्को मुख्य एजेण्डा हो । 

समृद्धि भनेको भौतिक पुर्वाधारले मात्र हुने होइन रहेछ, आर्थिक रुपमा मान्छेको जीवनस्तर बदल्ने कुरा मुख्य हो । समृद्धि भनेको भौतिक पुर्वाधारले मात्र हुने रहेनछ, मान्छेले ढल, बिजुली, पानी सबै चिज पाए पनि तर मान्छेले रोजगार पाएन भने अथवा हिजो र आजको जीवनस्तरमा कुनै उन्नति प्रगति भएन भने त्यो समृद्धि नहुने रहेछ । चेतना र मानसिक रुपमा खुशी र सतुष्टिले मात्रै मान्छे समृद्ध बन्छ ।  त्यसकारण मान्छेलाई स्वरोजगार बनाउनु, तथा आर्थिक रुपमा परनिर्भरताबाट थोरै भएपनि माथि उकास्नु हाम्रो उद्देश्य हो । यसका लागि सबैको सामाजिक जीवनस्तर बदल्न जरुरी छ । हामी अहिलेको परम्परागत ढाँचा भन्दा फरक तथा व्यक्तिगत सोंचभन्दा भन्दा पनि सामुहिक सोंचमा लगेर सामुहिक उपलब्धि हुने काममा लगानी गर्न आवश्यक छ ।

महिला समूहले विभिन्न साना साना कार्यक्रमका लागि बजेट माग्नेजस्ता सानासाना चिजहरुमा विकास गर्ने प्रचलन ठीक होइन । अब सानासाना लगानी नगरौँ र जति सक्दो सामुहिक हित र सामुहिक उपलब्धि हुने कुरामा मात्र लगानी गरौँ । यति मान्छे लाभान्वित भए भन्ने आशयको लगानीको उपलब्धि हुने किसिमका योजनाहरु मात्र ल्याउनुस् भनेका छौं । साथै सामाजिक सांस्कृतिक र आर्थिक जीवनस्तर उन्नतिको पनि मुख्य एजेण्डा हो । यद्यपि ती सबैकुराहरु एकै पटक सम्भव नहोला । तर त्यसका लागि क्रमशः ढोका खुल्दै जानुपर्छ । बुढानिलकण्ठ नगरपालिका आफैमा एउटा पर्यावरणीय, पर्यटकीय र धार्मिक, सांस्कृतिक नगर भएकाले पनि यी सम्भाव्यताहरु हामी भित्रै रहेको छ । हामी भित्र भएको सम्भाव्यतालाई उपलब्धिमूलक बनाउने योजनाहरु केके हुन सक्छन् भनेर हामी गम्भीर ढंगले अहिले घोत्लिरहेका छौं । 

अघिल्लो कार्यकालमा बाँकी रहेका अधुरा कामहरु पूरा गर्ने भन्नु भएको छ, तपाईँकै पार्टीबाट निर्वाचित अघिल्लो जनप्रतिनिधिले नगरेको र अपूरो रहेको काम चाँही के देख्नु भएको छ त ? 

यस बुढानीलकण्ठ नगरपालिकाको पूर्व जनप्रतिनिधिले झण्डै ८० प्रतिशत पूर्वाधारको कामहरु सम्पन्न गर्नु भएको छ । अघिल्लो जनप्रतिनिधिहरु लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापनापछि पहिलो पटक स्थानीय तहको निर्वाचनबाट आउनु भएको नेतृत्व पनि हो । जनताको अत्याधिक अपेक्षा पूर्वाधार निर्माण र प्रशासनिक ढंगले अगाडि बढाउनका लागि कानूनका विषयहरु अर्थात कानूनी तहहरुलाई ब्यवस्थापन गर्नुपर्ने भएकाले उहाँहरुले विभिन्न निर्देशिकाहरु, कार्यविधि, नियमावली जारी गर्नु भएको छ । आज हामीसँग टेक्नका लागि पूर्वाधार तथा प्रशासनिक, सांगठनिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणका लागि उहाँहरुले जारी गर्नु भएको कार्यविधि र आज हाम्रो हातमा कानून छ । यी दुई वटा सम्पत्ति हाम्रो अघिल्लो नेतृत्वले दिएर जानु भएको छ । यसकारण उहाँहरुले काम गर्नु भएन त भन्नै मिल्दैन । यति गर्दागर्दै पनि उहाँहरुको नजरले नभ्याएको बुढानीलकण्ठजस्तो सांस्कृतिक, धार्मिक, पर्यटकीय, वातावरणीय नगरीलाई समृद्ध बनाउने सामाजिक परियोजनाहरु निर्माण गर्ने काम भने हुन सकेनन् । यो विषय अपरिहार्य र हामीले गर्नुपर्ने विषय हो भन्ने लागेको छ । 

नगरबासीलाई चुनावकाबेला तपाईहरुले बाँडेका आश्वासन र सपनाहरु के थिए, र, कसरी कार्यान्वयन गर्ने सोंच्नु भएको छ  ?

नपुगेको ठाउँमा पूर्वाधार पुर्याउने, यो मुलुक कहिले पनि छाडेर जानुनपर्ने गरी यो नगरपालिकाको विकाश गर्ने, बुढानीलकण्ठ नगरलाई ब्राण्ड बनाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नै पर्यटन प्रवद्र्धन गर्दै बुढानीलकण्ठमा सबै पर्यटकलाई भित्र्याउने तथा वातारणीय हरियाली सौन्दर्यतालाई पूँजी बनाउने र हाम्रो नगरलाई सबैले हेर्नलायक र कहिल्यै पनि छोड्न नपर्ने बनाउने नै हाम्रो सपना हो । यसैको निरन्तरतामा आज हामी शुरुवात गर्ने अभियानमा छौं ।    

यो नगरपालिका धार्मिक र ऐतिहासिक महत्वको हुँदा हुँदै पनि धार्मिक पर्यटकीय क्षेत्रमा नगरपालिकाले उल्लेखनीय काम गर्न र उचित लाभ लिन किन सकेन ? 

मान्छेहरुलाई धर्मकर्म गर्न पाउनु र धर्मकर्म गरेर रमाउने तथा खुशी हुन पाउनु उहाँहरुको स्वतन्त्रता हो । जसरी उहाँहरु खुशी भइरहनु भएको छ, अहिले पनि यहि ठाउँमा पुजाआजाका लागि मठमन्दिरहरु बन्छन् । उहाँहरु त्यसलाई आफ्नो आस्थाको केन्द्र मान्नु हुन्छ । तर खुशी हुने र सुखी हुने कुरा चाँही अलग हो । सम्पूर्ण  रुपमा  यो खुशी र सुखी दिने कुरा होइन । हामीलाई बाँच्नकालागि गर्ने कामले मात्रै खुशी बनाउँछ । 

हाम्रो जीवनलाई आजको जीवनस्तरबाट अलि माथि उकास्न सक्नु पर्यो । त्यसकारण हामीले नगरपालिकाभित्रका यहि धार्मिक मठमन्दिर तथा धार्मिक, पर्यटकीय चिजहरुलाई पूँजी बनाउने कुरामा सोंच्नै पर्छ र, साेंच्न बाध्य बनाउँनै पर्छ । उहाँहरुले पुजा गरिराखेको मुर्ति अथवा उहाँहरुले देख्दा भित्र सुतिरहेको नारायण भगवानको मुर्ति अथवा त्यससँग सम्बन्धित विभिन्न धार्मिक कथाहरु होलान् । धार्मिक दृष्टिकोणले त्यसलाई विभिन्न कोणबाट व्याख्या गरिएको होला । त्यो एउटा रुप पक्ष हो । हामीले मुर्ति मात्र खोज्ने होइन, मान्छेको कला खोज्नुपर्छ । यो कुन सभ्यताको कला हो र यसले के के कुराको प्रतिविम्बन गर्छ, यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरुपमा खोज अनुसन्धान गरेर हामी यसलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन जान्नु पर्छ । 

यहि मुर्तिलाई पुजा गरेर मात्र रमाउने होइन कि यहीं भित्र भएका विभिन्न सभ्यताकालिन सूचना दिने विभिन्न सम्पदाहरु र ती सम्पदाहरु कहिलेदेखि चलनचल्तीमा आयो अनि, कहिलेदेखि स्थापित भयो अथा कहिलेदेखि मानब बसोबास सुरुवात भयो भन्ने खोज अनुसन्धान गर्नुपर्छ । 

विभिन्न जाति, वर्गका मान्छेहरुको मिश्रित बसोबास भएको यो ठाउँको जनघनत्व तथा आजको नयाँ वस्तीमा हिजो पुरातनवादी बसोबासको शुरुवात कसरी भयो भन्ने कुराको अध्ययन हुनु जरुरी छ । 

शिवपुरी निकुञ्ज तथा निकुञ्ज भित्र ज्ञान हँसिल गर्ने शिवपुरी बाबादेखि खप्तड स्वामीको समाधिस्थल पनि यो नगरपालिकामा छ । खप्तड स्वामीको समाधिस्थलले पनि बेग्लै किसिमको महत्व बोकेको छ । खप्तड स्वामी धार्मिक एवम् सामाजिक अभियन्ताको रुपमा पनि चर्चित छन् । यस्ता महत्वपूर्ण संस्कृतिहरुलाई बजारीकरण गरी पूँजीको रुपमा विकाश गर्ने कुरा हामीेले सोंच्न जरुरी छ । आजै हामीले यसको स्वामित्व लिएर चिनाउन सकिएन भने अबको पुस्ताले यसको कथा, परम्परागत सभ्यताहरु बिर्सिन्छन् । त्यसैले अब हामीले फरक खालको सोंच बनाउनुपर्छ । 

बुढानीलकण्ठ नगरभित्रका बाघद्वार, विष्णुद्वार, चन्डेश्वरी, नामिनेश्वरी भगवतीको मन्दिर, टुँडिखेलका साथै ललितपुरको खोकनाजस्तो आभाष दिलाउने नेवारहरु मात्रै बस्ने एउटा सानो परम्परागत सहर छ । त्यस्ता वस्तुको खोज अनुसन्धान, अन्वेषण गर्दै तिनीहरुलाई बेच्न सक्ने मूल्यवान चिज बनाउन सक्नुपर्छ । यो हामीले निर्वाचनअघि ब्यक्त गरेका अभिब्यक्ति मात्र नभई यसलाई आगामी ५ वर्षको हाम्रो कार्यकालमा साँच्चिकै पूँजी बनाउने कुरामा अबको एजेण्डा बनाएर हाम्रो नेतृत्व पंक्तिदेखि सबै लाग्नुपर्ने देखिन्छ ।  पूर्वाधार एउटा कुरा हो तर पूर्वाधारले मात्रैले हामीलाई सन्तुष्टी दिँदैन । पूर्वाधारले एउटा खुशी दिए पनि हाम्रो जीवनलाई सधैंभरि खुशी र सन्तुष्ट बनाइरहन सक्दैन । आर्थिक परनिर्भरता हटाउने र नागरिकलाई स्वरोजगार बनाएर मात्रै मान्छेको मन मष्तिस्क हृदय यति छिटो परिवर्तन गराउँछ । 

अहिले क्रमशः अलिकति पढेलेखेका हाम्रा छोराछोरी युरोप, अमेरिका, अष्टे«ेलिया जाने अनि अलिकति कम पढेका, वर्गीय हिसावले पछाडि पारिएका ब्यक्तिहरु दुबई, कतार, मलेशिया जाने परिस्थिति बनिरहेको छ । यो खालको परिस्थितिलाई हामीले कसरी जोगाउने भन्ने कुरा निकै महत्वपूर्ण छ । 

डोजर चलाएर पूर्वाधारलाई आफ्नै ढंगले तहसनहस गरेर बनाउने कंक्रिटका मोडेलहरु मात्रै विकासको मोडल होइन । अब साँच्चिकै सामाजिक चेत र सांस्कृति उन्नयनको चेतले यी विषयहरुलाई अगाडि बढाउन सकिन्छ ।  

हिन्दु धर्मावलम्बीको बुढानीलकण्ठदेखि बौद्धहरुको विभिन्न गुम्बाहरु रहेको साझा धार्मिकस्थललाई आकर्षित गर्ने तपाईहरुको नयाँ कार्यक्रम चाँही केही छ ? 

धर्मावलम्बीहरुलाई मात्र आकर्षण गर्ने होइन कि हरेक मान्छेलाई एकपटक बुढानीलकण्ठ आउनै पर्ने र बुढानीलकण्ठमा बसोबास गरिरहेका मान्छेलाई कहिलै पनि बुढानीलकण्ठ छाडेर जानु नपर्ने लायकको बुढानीलकण्ठ बनाउने हाम्रो अभियान हो । 

यो एकै ठाउँमा बुढानीलकण्ठ नारायणथानजस्ता हिन्दु धर्मावलम्बीका साथै बौद्ध धर्मावलम्बीहरुको पनि क्षेत्रका रुपमा चर्चित छ । लामाका धामीझाँक्रीहरु आएर परम्परागत ढ्याङ्ग्रो बजाएर आफ्नो ज्ञान आर्जन गर्ने अनि, हिन्दु धर्मावलम्बीहरुले मेला उत्सव गराएर धार्मिक तीर्थस्थलका रुपमा सन्तुष्टी लिने गरेका छन् । यहाँका सबै धर्म संस्कृति मान्नेहरु मिलेर बस्नुका साथै यहाँको संस्कृतिलाई संरक्षण एवम् सम्बद्र्धन गरेका छन् । यहाँको नागरिकको स्तर पनि उत्साहजनक ढंगले उठिरहेको छ ।  

अन्तमा, उपमेयरज्यू, तपाई आफू पनि तामाङ समुदायको भएकाले तामाङ बाहुल्यता रहेको बुढानीलकण्ठमा आफ्नो समुदायका लागि के गर्दै हुनुहुन्छ ? 

म तामाङ समुदायमा जन्मिए पनि कुनै पनि समुदाय लक्षित भएर कार्यक्रम गर्दिन । म आम मानवहितमा काम गर्ने मान्छे हुँ । मलाई मेरो मातृ पार्टी एमालेले पनि यसैगरी चिन्दछ । मलाई माया गर्ने सामाजिक ब्यक्तित्वहरुले पनि जातिविशेषका रुपमा लिँदैनन् ।

तर पनि यो ठाउँमा तामाङहरुको बाहुल्यता छ । यी तामाङ जातीहरु सरल, सोझासिधा तथा विभिन्न क्षेत्रमा पहुँच पुर्याउन नसक्ने र जग्गा जमिन भएर पनि नगद नभएका परनिर्भरता भएका समुदाय हुन् । यसकारण डाँडाडाडामा रहेका आफ्ना जमिन बेचेर छोराछोरी पढाउने, जग्गाजमिन बेचेर जीविकोपार्जन गर्नेदेखि आज धेरै तामाङ समुदायहरु डाँडाको जमिन सस्तोमा बेचेर आफू जमिनबाट बिमुख भई सडकमा बास बस्ने अवस्थामा पुगेका छन् । तामाङ समुदायका नागरिकहरु विस्थापित हुने क्रम शुरु भइसकेको मैले देखेको छु । दैनिक ज्यालादारीमा काम गर्ने सोझासिधा तामाङहरु जनचेतनाको कमी भएको हुनाले एक छाक खानामा पनि बहकिने गरेका छन् । 

उनीहरुलाई पहिलो जनचेतना दिलाउने तथा दोस्रो सामाजिक सांस्कृतिक अभियानमा लगाउनका लागि शिक्षा महत्वपूर्ण विषय रहेको छ । यसबारेमा हामीले पहिलो प्राथमिकता दिनुपर्छ ।  खासगरी, उस (तामाङ समुदाय) को जमिन किनेर पाँच तलाको रिसोर्ट बनाउने हैसियत भएका मान्छेहरुले उसैको जमिनमा रजाईँ गरिरहेका छन् । डाँडाकाडाका उनीहरुकै सबै जमिनहरु किनेर आज पाँच तलाको होटल, रिसोर्टहरु चलाइरहेको अवस्था छ । त्यो डाँडालाई जीवन्त माया गर्ने, पुर्खादेखि माया गर्ने र ती डाँडाहरुलाई जोगाइ राख्ने बनाएर तामाङ समुदायहरुको जीवन हिजोभन्दा आज कमजोर कमजोर बन्दै गएको छ । त्यसकारण यी समुदायको जीवनस्तरलाई स्तरवृद्धि गर्ने र आफ्नै ठाउँमा स्वरोजगार सिर्जना गर्ने मेरो अर्को महत्वपूर्ण प्राथमिकता हुनेछ । यो समुदायको अपहेलित र हिनताबोधको परिस्थितिबाट एकस्टेप भए पनि म उनीहरुलाई माथि उकास्न चाहन्छु । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद