भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन्।
भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रूपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन्।
चितवन कृषिमा अब्बल मानिन्छ। चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ। चितवन पोल्ट्रीको राजधानी भनेरसमेत परिचित छ। भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ ।
चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्त्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालले विचार व्यक्त गरे। भरतपुर सुन्दर, सफा, हराभरा सहरका रूपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको दाहालको भनाइ छ।
इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताइन्। उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरिन्। इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रूपमा परिचित छ। -रासस