Media Network

भैरव अर्यालको प्रतिमा अनावरण


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुख्र्यौली थाकथलो जोरपाटी अर्याल गाउँ (हालको गोकर्णेश्वर÷७) मा अनावरण गरिएको छ । 

अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच प्रतिमा अनावरण गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । व्यङ्ग्य साहित्य बाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहेका घिमिरेले बताए । 

वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिले सम्म चुनौती दिन नसकेको दाबी गरे ।  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताए । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताए । स्थानीय पुण्यप्रसाद दाहालले अन्यत्र अपहेलित अवस्थामा रहेको अर्यालको प्रतिमालाई उनकै पुख्र्यौली थातथलोमा राख्न पाउँदा गौरव लागेको बताए । तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकाल देखि गर्दै आएको गतिविधिबारे प्रकाश पारे । स्थानीय समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका जेष्ठ सुपुत्र प्राध्यापक डाक्टर दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । 

अर्यालको पूर्ण कदको सालिक (महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकल सहित) कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्धकदको सालिक हेटौडाको पुष्पलाल चोकमा अवस्थित छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद