Media Network

बाजुराको बुढीगंगामा मतदान सकियो


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ । बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको छ।

बुढीगंगा नगरपालिका– ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण भएको उनले बताए । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान रोकिएको थियो । झडपपछि प्रहरीले हवाई फायर गरेको थियो ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो ।

बुढीगंगा नगरपालिकाका मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रीता शाही उम्मेदवार छन् । नगरपालिकामा १२ हजार ६५९ मतदाता रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद