भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो । जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिए । सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पारे ।
विभिन्न सङ्घसंस्था, कम्पनी तथा उद्योगमा आवश्यक रोजगारीका बारेमा मेलामा जानकारी दिइने छ । रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ । जिल्लाका साथै देश–विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरमा जानकारी गराइने सुवेदीले बताए ।
विद्यार्थी तथा बेरोजगार युवालाई श्रम बजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गरिने उनको भनाइ छ । तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरका बारेमा सो अवसरमा जानकारी गराइने छ ।
चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भएपनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा गरिएको छ । मेलामा ६० वटा स्टल रहने छन् ।
दुई दिनसम्म चल्ने मेलामा १० हजार हाराहारीले अवलोकन गर्ने र दुई सय जनाले मेलाकै समयमा रोजगारी पाउने अपेक्षा सुवेदीले गरे ।