Media Network

बार निर्वाचनः घिमिरेसहित लोकतान्त्रिक प्यानलको अग्रता


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौँ । नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहतर्फका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म २५ केन्द्रको ३ हजार २ सय ३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत प्राप्त गरेका छन् ।

जारी मतगणनाअनुसार अन्य पदमा पनि घिमिरे नेतृत्वको लोकतान्त्रिक प्यानलले नै अग्रता लिएको छ । महासचिवमा अञ्जिता खनाल एक हजार ७६५ उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला एक हजार १५७ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले एक हजार ९२८ मत र उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार ६६ मत प्राप्त गरेका छन् ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान सम्पन्न भएको थियो । मङ्गलबार बिहानदेखि मतगणना सुरु गरिएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।

अहिलेसम्म २५ केन्द्रको मतगणना सम्पन्न भइसकेको बारका प्रमुख निर्वाचन अधिकृत उषामल्ल पाठकले जानकारी दिए । छ स्थानमा गणना भइरहेकोमा विहीबारदेखि थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद