Media Network

बस दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । रूपन्देहीको रोहीणी गाउँपालिका–३ रोहीणी पुलबाट खोलामा खसेर दुर्घटना भएको बसका ९ यात्रुको मृत्यु भएकोमा ८ जनाको सनाखत भएको छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस आफै अनियन्त्रित भइ पुलबाट २० मिटर तल खोलामा खसेर आइतबार बिहान दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये ५ जनाको भैरहवा मेडिकल कलेज भैरहवामा र ४ जनाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेहरूमा रूपन्देहीका ६५ वर्षीय राजेन्द्र पाण्डे, ३७ वर्षीया तुल्सी बस्याल, ५६ वर्षीय बिष्णु पौडेल, ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ४० वर्षीय अरबिन्द्र शर्मा, ५० वर्षीय नागेन्द्र शार्मा र रौतहटका २० वर्षीय दिनेश दास, भारत सितामणी घर भएका संजय गुप्त रहेका छन् अन्य १ जनाको सनाखत कार्य भइरहेको छ । साथै दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 

यसैबीच, दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथलयस्थित सडकमा प्रदेश ३–०१–०२४ च  ५९१९ नम्बरको पिकअप गाडीले बा. ७५ प ४५२१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक भिमेश्वर नगरपालिका–५ जिलु बस्ने ३३ वर्षीय उमेश श्रेष्ठको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ कोइला डिपो अगाडि सडकमा जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२–०३–०२२ प ५३०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–६ बस्ने ३५ वर्षीय रंजित डोकानियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै, दाङ, राप्ती गाउँपालिका–१ पुलचोकस्थित सडकमा रोल्पाबाट घोराहीतर्फ जादै गरेको ना.४ ख ३९९६ नम्बरको बसले लु. ७ प ९८९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार रोल्पा लुङ्ग्री गाउँपालिका–५ बस्ने १७ वर्षीय महेन्द्र सुनारको मृत्यु भएको छ । 

यसैगरी, तनहुँ, ब्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.१५ प १४८४ नम्बरको स्कुटरलाई ग. १ क ५५३३ नम्बरको टिपरले शनिबार साँझ ठक्कर दिंदा स्कुटर चालक बन्दीपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । 

काभ्रेको पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७३ प ७५०२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिदाँ मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी नगरपालिका–६ बस्ने २८ वर्षीय फुलकाजी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद