Media Network

बैतडीमा १ लाख ४६ हजार मतदाताको नाम दर्ता


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

बैतडी । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म १ लाख ४६ हजार बढीको नाम दर्ता भएको छ ।  

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म १ लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।  

विसं २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या १ लाख ४४ हजार ९०२ रहेका छन् । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र २ जना तेस्रोलिङ्गी रहेका छन् । त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत १ हजार १८० जनाले नाम दर्ता गराइसेकेका छन् ।

निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको सङ्ख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।  

गएको पुस ५ गते संघीय संसद् विघटनपश्चात मतदाता नामावली संकलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो ।  त्यसपछि साउन १ गतेदेखि पुनः नामावली संकलनको कार्य सञ्चालन भइरहेको छ ।  

हाल पालिकास्तरमा सञ्चालनमा रहेको नामावली संकलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताए ।  

आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद