बागमती प्रदेश सरकारले नयाँ वर्षदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । यातायात मन्त्रालयले फागुन २४ गते भाडा बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार काठमाडौं उपत्यकामा यात्रुले गाडी चढ्ने वित्तिकै २० रुपैयाँ तिर्नुपर्नेछ । पाँच किलोमिटरसम्मको यात्रा गर्दा २० रुपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी, १० किलोमिटरसम्मको दूरी यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको दूरी यात्रा गर्दा ३० रुपैयाँ, २० किलोमिटरसम्मको दूरी यात्रा गर्दा ३३ र २० भन्दा बढी किलोमिटरको यात्रा पार गर्नुपर्नेमा ३८ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । जसको परिणामस्वरूप सार्वजनिक यातायातको भाडा पछिल्लो ६ महिनामा दोस्रो पटक बढेको हो । यसअघि, सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको थियो ।
यस्तै, गत चैत १७ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार, गत चैत २० गतेदेखि लागू हुने गरी यातायात ब्यस्वस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा बालबाहक सार्वजनिक सवारीको भाडादर समायोजन गरेको थियो ।