मौसम पूर्वानुमान महाशाखाले ‘स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन(१’ जारी गरी मतदानका दिन सातै प्रदेश वर्षाको सम्भावना रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। साथै, दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’ विकास भएको छ। उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिएको छ। उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना छ।