Media Network

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

कास्की । चीन सरकारको पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगेको छ । 

 ९३ प्रतिशत काम सकिइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनले एक्जिम बैंकमार्फत २ प्रतिशत ब्याजदरमा २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो। विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ ।चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।

विमानस्थलका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्दैछन् । विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायतका निर्माण काम सम्पन्न भएसँगै फिनिसिङको चरणमा छ।

सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो । निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद