Media Network

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

डोटी । दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । 

उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो । 

बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो । 'गुड नेभर्स इन्टरनेशनल, नेपाल' र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठकले बताए । बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ । 

उनले भने, 'बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ ।' मतदानमा १४५ छात्र र १४२ छत्रासहित २८७ विद्यार्थी सहभागी थिए । महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानूनी व्यवस्था छ । तर, अभिभावकको करकापले अधिकांश बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन् । 

बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल जारी छ । 'बालविवाहको असरबारे अभिभावकलाई ज्ञान हुन जरुरी छ', सामुदायिक विकास केन्द्रका सूचना अधिकारी एकराज बडुले बताए । 

उच्च शिक्षा अध्ययन गर्न नसकेपछि यहाँका बालबालिका बीचमै ढाइ छोड्न बाध्य छन् । उनीहरु कोही विदेश जान्छन् भने कतिपयले विवाह गर्ने चलन बढ्दै गएको उनको भनाइ छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद