एक वर्षमा ४ हजार ६५३ केजी सुन नेपाल भित्रियो


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
एक वर्षमा ४ हजार ६५३ केजी सुन नेपाल भित्रियो
काठमाडौँ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा  (४ हजार ६५३ केजी) सुन  भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो । 

नेपालमा सबैभन्दा बढी सुन युएईबाट आउने गरेको छ । युएईबाट चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

पछिल्लो एघार महिनामा नेपालले ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ खर्चेर उक्त सुन आयात गरेको हो । आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपाल भित्रिएको भन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो ।