Media Network

फेरि अर्को दुर्घटना, चार जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।सोमबार बिहान २ः ३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको मृत्यु भएको हो ।

मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८ ख. ८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

प्रहरीले स्थानीयबासीको सहयोगमा शब बाहिर निकाल्ने प्रयास जारी राखेको छ । शव यत्रतत्र छरिएकाले संकलन गर्ने काम भई रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थल कटारी बजारबाट करिब ४० किलोमिटरको दुरीमा रहेकाले कटारीबाट ईलाका प्रहरी कार्यालयको टोली भर्खर पुगेको बताइएको छ ।  

ट्रकमा कति जना सवार थिए भने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तारा एयरको आइतबारदेखि बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो भने आइतबार नै लमजुङको मध्यनेपालमा टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएका थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद