हुम्लामा निर्वाचन प्रहरी नै टायर बालेर सडक आन्दोलनमा


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०८२, मंगलवार
हुम्लामा निर्वाचन प्रहरी नै टायर बालेर सडक आन्दोलनमा

हुम्ला । आसन्न फागुन २१ को निर्वाचनका लागि नियुक्त भएका निर्वाचन प्रहरीहरु नै हुम्लामा आन्दोलनमा उत्रिएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर निर्वाचन प्रहरीले सेवा सुविधा कम भयो भन्दै प्रदर्शन गरेका हुन् । पहिले भनिएको भन्दा कम रकम पाउने हल्ला फैलिएपछि निर्वाचन प्रहरीहरू असन्तुष्ट बनेर आन्दोलनमा उत्रिएका हुन् ।

निर्वाचन प्रहरीले तोकेको कार्यविधि भन्दा सेवा सुविधा कम भयो भन्दै विरोध प्रदर्शन गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । सेवा सुविधाबारे गलत बुझाइका कारण समस्या देखिएको सूचना अधिकारी चन्दले बताएका छन् । गलत बुझाइले गर्दा तोडफोड र टायर बालेर विरोध प्रदर्शन गरेको प्रशासनको भनाई छ । 

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ ।

त्यसैगरी, मतदानको दिनको अघिपछि गरी ४ दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले जम्मा १ हजार २ सय रुपैयाँ खाजा खर्च पनि उपलब्ध गराइन्छ ।

हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले अतिरिक्त सुविधा पाउने व्यवस्था अनुसार, हुम्लामा प्रतिप्रहरी करिब ११ हजार ५७० रुपैयाँ बराबरको थप खर्च हुने प्रशासनले जनाएको छ । पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ खर्च हुने गर्छ ।