काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।
बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार लामालाई पक्राउ गरेपछि साम्पाङले पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको भिडियो सन्देशमार्फत जानकारी दिएका हुन् ।
मेयर साम्पाङले आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव नपार्ने स्पष्ट पारेका छन् ।
उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता रहेको र विगतमा सशस्त्र द्वन्द्वमा सहभागी भएको कुरा आफूलाई जानकारी भए पनि अहिले पक्राउ गरिएको समय र सन्दर्भप्रति भने साम्पाङले आशंका व्यक्त गरेका छन् ।
साम्पाङले जुनसुकै राजनीतिक षड्यन्त्र भए पनि आफूहरू विचलित नहुने र देश तथा जनताको पक्षमा काम गरिरहने प्रतिबद्धता दोहोर्याएका छन् ।