Media Network

कांग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारी, २ बजेसम्म ७०० मत खस्यो


खबरस्टोरी संवाददाता

८ पुष २०७८,बिहीबार

धनुषा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । 

योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । 

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । दिउँसो २ बजेसम्ममा ७०० जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । आज दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोके पनि मतदाताको लामो लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ । 

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान कार्यक्रम भइरहेको छ । अहिलेसम्म व्यवस्थित रुपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि २-२ जिल्ला गरेर ४ वटा बुथको व्यवस्था गरिएको छ । धनुषा–महोत्तरी, सिराहा–सप्तरी, सर्लाही–रौतहट र बारा–पर्साका गरेर ४ वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् । 

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये ५ जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।  

प्रदेश नं २ का ८ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी २ हजार मतदाता रहेको बताइएको छ । यसैबीच कांग्रेसका नेता एवम् पूर्वउपसभापति बिमलेन्द्र निधिले गोपाल धर्मशालामा पुगेर मतदान गरेका छन् 

Share:
Reaction :
ताजा समाचार
खेलकुद