Media Network

कांग्रेसको किल्ला तोड्दै २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बाँस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।पूर्व सांसद दामोदर बाँस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशाङ्क कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहो¥याइएको थियो ।अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुक मगरले ३५१९ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद