Media Network

किन भइरहेछ गण्डकी सरकारको आलोचना ?


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । सामाजिक सञ्जालहरुमा गण्डकी प्रदेश सरकारको निकै आलोचना भइरहेको छ । गण्डकी प्रदेश सरकारकार साथै गठबन्धन सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नेता एवम् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)को आलोचना भइ नै रहेको छ । 

विपक्षी दलका नेता कार्यकर्ताले मात्र होइन, गठबन्धनभित्रकै सहयात्री दलका नेता कार्यकर्ताले पनि प्रदेश सरकारको आलोचना गरिरहेका छन् । 

मुख्यमन्त्री नेपालीको बुवा स्वर्गीय गोबद्र्धन शर्माको नाममा स्थापना भएको गोबद्र्धन शर्मा स्मृति कोष, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका मातापिताका नाममा ट्रष्ट स्थापना तथा कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क एवम् पर्वतका कांग्रेस नेता डिल्लीराम लामिछानेको नाममा प्रतिष्ठान बनाउन भन्दै बजेट छुट्याइएपछि आलोचना भएको हो । 

सम्बन्धित क्षेत्रबाट आएको माग अनुसार मुख्यमन्त्री पोखरेलको बुवाको कोषका लागि ५० लाख, सामाजिक विकास मन्त्री श्रेष्ठका मातापिताका नाममा ट्रष्टका लागि १ करोड तथा कांग्रेस नेता जोशीका नाममा पार्क बनाउन २० लाख तथा लामिछानेको नाममा २० लाख बजेट छुट्याएपछि चौतर्फी आलोचना भएको हो । 

यस्तै, मुख्यमन्त्री पोखरेलकै बाबुको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्न पनि १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

मन्त्री श्रेष्ठले गरे ट्रष्टको बजेट नलिने घोषणा  

चौतर्फी आलोचनापछि आइतबार मात्रै सामाजिक विकास मन्त्री श्रेष्ठले आफ्ना बाबुआमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन आग्रह गरेका छन् । आइतबार समाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मन्त्री श्रेष्ठले गल्ती भए माफ गर्न र कमीकमजोरी भए सच्चिन मौका दिन आम नागरिकलाई अपिल गरेका छन् । 

आफ्नो ट्रष्टका लागि छुट्याइएको बजेट फिर्ता लिन उनले सामाजिक सञ्जालबाटै प्रतिवद्धता जनाएका छन् । मन्त्री श्रेष्ठले आफ्नो बाबुआमाको नामको ट्रष्टका लागि छुट्याइएको बजेट फिर्ता गर्न आग्रह गरे पनि मुख्यमन्त्री पोखरेल भने अहिलेसम्म मौन छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद