यसपाली फेरि चुनाव आयो । चुनावकाबेला नै काठमाडौंको फोहोर सडकबाट उठ्न सकेन । चुनावका दिन पनि काठमाडौंका मतदाताहरु नाक थुनेर मतदान गर्न गए । नाक थुनेर नेताहरुलाई गाली गर्दै भोट हाल्न गएका काठमाडौंबासीले पुराना नेताहरुलाई भोट दिएनन् । काठमाडौंबासीले काठमाडौंको विकास गर्छु भनेर एक्लै हिडेको युवा बालेन्द्र शाहलाई मेयरमा जिताइदिए ।
काठमाडौंबासीले मेयरमा शाह मात्र होइन, राजनीतिक पार्टीको समर्थनमा निर्वाचनमा भाग लिएकी सानो उमेरकी यसअघि कुनै पनि राजनीतिक दलमा नरहेकी सुनिता डंगोललाई उपमेयरमा निर्वाचित गराए ।
फोहोर ब्यवस्थापनकै चुनौति
काठमाडौं महानगरपालिकाको निर्वाचन सम्पन्न भएर शाह र डंगोलले मेयर उपमेयरको पदभार ग्रहण गरेको एक हप्ता भइसकेको छ । हप्तौदेखि उठ्न नसकेको फोहोरको राश काठमाडौंका सडक र गल्लीहरुमा थुप्रिदै गइरहेको छ ।
काठमाडौंको मुहार फेर्ने विश्वासमा जिताएका युवा मेयर उपमेयरलाई फोहोरकै समस्याले गिजोलेको छ । पदभार ग्रहण गरेलगत्तै उनीहरु नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । तर उनीहरुलाई स्थानीयले हप्कीदप्की पारे ।
काठमाडौंबाट उठाइएको फोहोरले आफ्नो गाउँ नै दुर्गन्धित र प्रदुषित भएको भन्दै डम्पिङ साइट नजिकका नागरिक रुष्ट छन् । काठमाडौं फोहोर ब्यवस्थापन गर्दा आफूहरुको समस्या सम्बोधन नहुने उनीहरुको तर्क छ । फोहोर ब्यवस्थापन गर्न दिएर काठमाडौं त सफा होला, तर नुवाकोटेको गाउँ डम्पिङ साइट बनिरहेका छ । असर पुर्याइरहेको छ । त्याहाँको नागरिकलाई पनि दीर्घकालिन असर नहुने योजना बन्नु आवश्यक देखिन्छ ।
कार्यपालिका बैठकको पहिलो सफलता
मेयर शाहले चुनावअघि गरेको प्रतिवद्धताअनुसार निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकबाट सबै बैठकलाई ‘लाइभ’ अर्थात प्रत्यक्ष प्रशारण गर्ने निर्णय गराई पहिलो बैठक पनि लाइभ गराए ।
राजनीतिक दलको झण्डा ओढेका सबै वडाका वडाध्यक्षको विरोधका बाबजुद काठमाडौंमा तत्काल होटल, रेष्टुरेन्टहरुका सौचालय सार्वजनिक सौचालयका रुपमा प्रयोग गर्ने महत्वपूर्ण निर्णय गराए ।
यस्तो निर्णयलाई काठमाडौंका होटल रेष्टुरेन्ट ब्यवसायीले सहर्ष स्वीकार गरिदिए भने काठमाडौं बाहिरका शहरमा पनि यसको प्रभाव शुरु भइसकेको छ । तर काठमाडौंको फोहोर भने ब्यवस्थापन गर्नै समस्या भइरहेको छ ।
राजनीतिक दलबिना काम नहुने संकेत
काठमाडौं महानगरसहित धरान, धनगढी, जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । तर उनीहरुलाई असफल बनाउने राजनीतिक दलका नेताहरुको अभिब्यक्तिबाटै स्पष्ट भइसकेको छ ।
स्वतन्त्र उम्मेदवारले जितेकोमा संसदमा नै बहस भयो । नेताहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मेयर शाहलाई लक्षित गर्दै राजनीतिक दलबिना एक्लै काम गर्छु भनेर सम्भव नहुने भनी सार्वजनिक अभिब्यक्ति नै दिए । ‘दलबिना एक्लै काम गर्छु भनेर हुँदैन, कुनै राजनीतिक दलमा आउनुपर्छ ।’ –पोखरेलले पार्टीमा प्रवेश गर्नसमेत संकेत गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलले काम नगर्दा नागरिक रुष्ट भएको स्वीकार गरेनन् । पार्टीले उम्मेदवार कमजोर बनाउँदा स्वतन्त्र ब्यक्तिले चुनाव जितेको तर्क गरे । नेताहरु एकपछि अर्को गरी कुर्लिएका अभिब्यक्तिबाट काम गर्न सहज नहुने संकेत शाहले पाइसकेका छन् । त्यसैले उनले निर्वाचित भएपछि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतलाई भेट गरिसकेका छन् ।
आइतबार मात्रै मेयर शाहले बाग्मति प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरे । सबै राजनीतिक दलको साथ खोजेका उनले पहिलो चरणमा उनले काठमाडौंका फोहोर ब्यवस्थापनबारे नै नेताहरुसँग छलफल गरिरहेका छन् ।
त सार्वजनिक समस्याको पहाड बनिरहेको फोहोर उठाउनै समस्या भएपछि नवनिर्वाचित मेयर शाहले प्रधानमन्त्री, मुख्यमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेतृत्वपंक्तिलाई भेट गरिरहेका छन् ।
निर्वाचिनअघि बालेनको प्रतिवद्धता
मेयर बालेन शाहले निर्वाचनअघि काठमाडौं महानगरपालिकाको मेयर घोषणा गर्दै गर्दा काठमाडौंको विकासका लागि २८ बुँदे प्रतिवद्धता जनाएका थिए ।
शिक्षा, स्वास्थ्य पूर्वाधार, यातायात ब्यवस्थापन, पानी, पर्यटन, फोहार ब्यवस्थापन, संस्कृति, सम्पदा, भ्रष्टाचार विरोधी ब्यूरो, होम डेलिभरी सरकार, आइडिया बैंकदेखि चुस्त र सेवामुखी प्रशासनकोबारेमा शाहले प्रतिवद्धता जनाएका छन् ।
शाहले जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्तादेखि वृद्धभत्ता लगायतका स्थानीय सरकारका सेवा घरघरमै गएर दिने बताएका छन् ।
काठमाडौंमा १० हजार सिसीटीभी क्यामेरा जोडेर काठमाडौंलाई सुरक्षित बनाउनेदेखि शिक्षा, सूचना प्रविधि, सीप र उद्यमशिलतामा जोड दिनेदेखि आईडीएल बैंक र जब सेन्टर खोल्ने योजना शाहको छ ।
काठमाडौंमा मेट्रोरेलको सम्भावना तत्काल नभएको दाबीसहित उनले बरु सार्वजनिक यातायातको ब्यवस्थापनमा जोड दिएका छन् । महानगरले बस स्टेशनमा फाल्चाहरु बनाउने, मासिक शुल्क तिर्ने गरी कार्ड सिष्टम बनाउने, बसको समयतालिका र रुट ब्यवस्थापका लागि एप्सहरु बनाउने शाहले बताएका छन् ।
ती मध्ये काठमाडौंबासीका लागि फोहर ब्यवस्थापन सबैभन्दा महत्वपूर्ण र चुनौति बन्दै गएको छ । अहिलेसम्मको उम्मेदवारहरुले काठमाडौंलाई हराभरा र ग्रीन सिटी बनाउने आश्वासन दिए पनि घोषणापत्रमै सीमित भए ।
कसरी गर्ने फोहोर ब्यवस्थापन ?
काठमाडौं महानगरको मेयरमा निर्वाचित शाहले भने फोहोर ब्यवस्थापनकाबारेमा मात्रै पाँच वटा बुँदा उल्लेख गरेका छन् ।
अर्गानिक प्लाष्टिक र शिशाजन्य फोहर छुट्टाछुट्टै संकलन गरिने छ ।
काठमाडौं महानगरकै नजिकै इन्सिनरेटर जडान गरी उच्चस्तरीय प्रविधिले फोहोर ब्यवस्थापन गरिनेछ ।
अर्गानिक फोहरलाई प्राङ्गारिक मलमा परिणत गरी नजिकैको कृषिप्रधान जिल्लाहरुमा बिक्री गरिनेछ ।
कारखाना र औद्योगिक फोहोरको परिवर्तनीय क्षमताअनुसार ब्यवस्थापन गरिने छ ।