केही दिनअघि सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुगेर उनीहरुले फोहोर व्यवस्थापन र चुनौतीबारे जानकारी लिएका थिए। प्रमुख बालेनले एक हप्ताभित्र सिसडोलमा फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्ने बताएका थिए।
‘म आएको चार दिन भयो। मलाई काम गर्न दिनुस्’ उनले भनेका थिए। उनले काठमाडौंबाट नै फोहोर छुट्याएर पठाउन जनचेतना फैलाउपर्ने, फोहोरबाट मोहोर बनाउने लगायतका योजना समेत सुनाएका थिए।
बालेन र सुनिताले पदभार ग्रहण गरेसँगै भएको काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा पनि फोहोरको मुद्दाले प्राथमिकता पाएको थियो। तर, स्थानीयको माग र अवरोधका कारण ल्यान्डफिल साइटमा फोहोर फाल्न सकिएको छैन।
उक्त भेटमा बञ्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा छलफल भएको मन्त्री झाँक्रीको सचिवालयले जनाएको छ। बालेन र सुनिताले सिसडोल र बञ्चरेडाँडाको स्थानीयको माग र महानगरमा देखिएको फोहोरको समस्याबारे अवगत गराएका थिए।
जवाफमा झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल साइटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेको बताएकी थिइन्। फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता उनले दिएकी थिइन्।
बञ्चरेडाँडामा स्थानीयले सिसडोल जस्तो अवस्था नओओस् भनेर अहिले नै दीर्घकालीन समाधान खोजेको बताइरहेका छन्। बालेन र सुनितासमक्ष पनि उनीहरुले फोहोरको वैज्ञानिक व्यवस्थापन, जग्गा अधिग्रहण लगायतका माग राखेका थिए।
प्रमुख बालेनले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक दलका शीर्ष नेताहरुसँग गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको प्रमुखमा जितेका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
भेटका क्रममा उनले नेताहरुलाई फोहोर व्यवस्थापनका लागि सहयोगको माग गरेका थिए। जवाफमा नेताहरुले आफूहरुको सहयोग रहने बताएका थिए।
काठमाडौं महानगरमा फोहोर उठ्न नसक्दा र छिमेकी नगरका फोहोर पनि ल्यान्डफिल साइट जान नसक्दा अहिले समस्या बढ्दै गएको छ।