Media Network

लुटेराहरुलाई माला लगाइदिन निर्वाचनः सुवेदी


प्रेम कडेल

२५ चैत्र २०७८,शुक्रबार

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य चन्द्रहरी सुवेदीले आसन्न निर्वाचन लुटेराहरुलाई माला लगाइदिनका लागि मात्रै भएको बताएका छन् । चितवनको आयोजनामा पार्टीको २३ औं जनआन्दोलन दिवसका अवसरमा चितवनको पुलचोकमा भएको सभामा बोल्दै उनले आसन्न निर्वाचनमा दलाल, भ्रष्ट र ठेकेदारहरु नै हावी हुने देखेर आफूहरुले निर्वाचनमा भाग नलिएको बताए । 

‘स्थानीय निर्वाचन राजनीतिक लुटेराहरुलाई माला पहिराउनका लागि मात्रै गर्न खोजिएको छ’, उनले भने, ‘पैसाको खोलो बगाएर दलाल र ठेकेदारले चुनाव जितेर जनताको पक्षमा काम गर्दैनन् ।’ 

यो व्यवस्था नाममा गणतन्त्र भए पनि दलाल, भ्रष्ट र ठेकदारहरुको गरिब जनता चुसेर खाने जनतामारा व्यवस्थामा परिणत भएक‍ोले दलाल संसदीय व्यवस्था नै भएको उनको दाबी थियो । 

जनताको वास्तविक व्यवस्था नयाँ जनवादी व्यवस्था ल्याउन संघर्ष गर्नुको विकल्प नभएको भन्दै उनले २३ वर्षअघिको चैत २४ को जनआन्दोलनको स्मरण गरे । 

अन्य राजनीतिक दलहरुले चैत्र २६ गतेको दिनलाई जनआन्दोलन दिवसका रुपमा विजय उत्सव मनाउने गरे पनि माओवादी लगायत पूर्व मसाल समूहले चैत २४ लाई जनआन्दोलनका रुपमा मनाउने गरेका छन् । 

विहीबार चितवनको भरतपुरस्थित नारायणगढको लायन्स चोकबाट र्यालीसहित पुलचोकमा पुगेर क्रान्तिकारी माओवादीले जनसभाको आयोजना गरेको थियो । 

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घननाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी पार्टीको वैकल्पिक केन्द्रीय सदस्य अशोक शर्माले गरेका थिए ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विहीबार काठमाडौंसहित देशैभर विभिन्न कार्यक्रम गरेर जनआन्दोलन दिवस मनाएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद