शाक्यका अनुसार गत वर्ष वितरण हुन नसकेको ठाउँमा पानी वितरण गरिनेछ । अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ । पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने प्रमुख कार्यकारी निर्देशक शाक्यले बताए ।
पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनले बताए । गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो ।
गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइने उनले बताए । उनले भने, “पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।”
गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौं ल्याइएको हो ।